Invalid Conversion Type | Tuesday 19th November 2019

बालमैत्री प्युठान बनाउन क्रियाशील छु ः बालसञ्जाल अध्यक्ष सुनार


Hamroekata २२ कार्तिक २०७६

प्युठान जिल्लामा बालबालिकाको समान्य अवस्था र बालविवाहका बारे बालसञ्जालकी नवनियुक्त जिल्ला अध्यक्ष मिना सुनारसंग हाम्रो एकता अनलाईनका कार्यकारी सम्पादक सागर रिजालले गर्नुभएको कुराकानी  !

१) जिल्लामा बालबालिकाको अवस्था कस्तो छ ?
सामान्यतया आफ्नो व्यक्तित्व विकास आफै गर्न नसक्ने कलिलो उमेरका बालक वा बालिकालाई बालबालिका भनिन्छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनमा उल्लेख भयअनुसार गर्भावस्था देखी १८ वर्षसम्मका बालक नै बालबालिका हुन् । वि.स. २०६८ काृ जनगणना अनुसार प्युठान जिल्लाको कुल जनसंख्यामध्ये एक लाख १४ हजार ६ सय ९९ जना बालबालिका रहेका छन् । समग्र रुपमा जिल्लामा बालवालिकाको अवस्था सकारात्मक रुपमा सुधारउन्मुख छ । शैक्षिक अवस्था हेर्नेहो भने करिब ९८ प्रतिशत बालबालिका विद्यालयमा भर्ना छन् भने पूर्ण खोप घोषणा समेत भईसकेको छ । यसर्थ बालबालिकाको स्वास्थ्य तथा शैक्षिक स्थिती राम्रो छ भन्न सकिन्छ ।
२) जिल्लामा बालविवाहको अवस्था कस्तो छ ?
सामान्यतया शारिरिक र मानसिक रुपमा परिपक्व नभई १८ वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनिन्छ । साथै मैले जोड्न चाहेँ नेपालको कानुन अनुसार २० वर्ष नपुग्दै कसैले पनि विवाह गर्न गराउन पाईदैन् यसलाई कानुन विपरित विवाह भनिन्छ । कतिपय मानिसहरुले बालबालिका १८ वर्ष सम्मका लाई भन्ने तर विवाह गर्न २० वर्ष पुग्नुपर्ने भन्ने प्रश्न छ ? यसको जवाफ एउटै हो बालविवाह र कानुन विपरित विवाहमा फरक छ । नेपालको कानुन बमोजिम २० वर्ष नपुगी कसैले पनि विवाह गरे गराएमा तीन वर्ष कैद र तीस हजार जरिवाना छ । यस्तो व्यवस्था हुदाहुँदै पनि साविक जिल्ला बालकल्याण समितिको तथ्यांक २०७२ अनुसार जिल्लामा ४५ प्रतिशत बालविवाह रहेको थियो । यद्यपी जिल्ला बालसञ्जाल प्युठान, बालकल्याण समिति , प्रशासन ,प्रहरी, कालिका विकास केन्द्र तथा सेभ द चिल्डे«न , स्थानिय तह , बालक्लब तथा बालसञ्जालहरु तथा स्थानिय जनप्रतिनीधिको सहायतामा बालविवाह रोक्ने काम भईरहेका छन् । ०७२ को तथ्यांकभन्दा बालविवाह घट्दो क्रममा रहेको छ । पहिले धेरै बालविवाह हुन्थ्यो भने विगत दुई वर्षदेखी जिल्लामा जम्मा ५३ जोडी बालविवाह रोकिएको तथ्यांक हामीसंग उपलब्ध छ । भन्नुको अर्थ ५३ जोडी मात्र बालविवाह भयो भन्नु त हैन तर ५३ जोडी बालविवाह रोक्न सक्नु एउटा ठूलो उपलब्धी हो ।

३) बालविवाह न्युनीकरणमा कार्यान्वयन पक्षसंग समन्वय कत्तिको छ ?
हामी बालवालिका स्वयंम आफै कार्यान्वयनको पक्ष होईनौँ । हामी सुचनाको माध्यममात्र हौँ । पछिल्लो समयमा ऐरावती क्षेत्रबाट बालविवाह भएको सुचना आएको जानकारी गराउँदछु । यद्यपी जिल्लामा बालविवाह भएको जानकारी कार्यान्वयन पक्षलाई दिदा पनि अलि वेवास्था गरेको मैले महशुस गरेको छु ।

४) जिल्लामा शहरकेन्द्रित बालविवाह न्युनीकरणका अभियानहरु सञ्चालन भएका छन्। दुर्गम क्षेत्रमा अझै यस्ता अभियानहरु सञ्चालन भएका छैनन् भन्ने गुनासाहरु आउँछन् । जिल्ला बालसञ्जालले दुर्गम क्षेत्रमा पनि अभियान चलाउन कस्ता कदम चाल्नुभएको छ ?
सर्वप्रथम त सागर जी लाई यस प्रश्नको लागि धन्यवाद! यस्ता प्रश्नले मलाई पहिले देखी सताईरहन्थ्यो यसर्थ हामीले जिल्ला बालसञ्जाल भित्रनै विभिन्न उपसमितिहरु बनाएका छौँ ।बालविवाहकाका विभिन्न समस्याहरुलाई समन्वय गरि समाधान गर्नका निम्ती उपाध्यक्ष दिपा रायमाझीको संयोजकत्वमा तीन सदस्यीय समन्वय उपसमिति , सदस्य करिश्मा परिवारको संयोजकत्वमा गुनासो सुनुवाई उपसमिति र उपाध्यक्ष रामबहादुर गिरीको संयोजकत्वमा त्रैमासीक पत्रिका प्रकाशन उपसमिति गठन गरिएको छ । यसैबाट प्रष्ट भयो कि अब सबै स्थानिय तहमा समन्वय गरि हामी गाउँगाउँ जान्छौ । हुनत गाउँगाउँ गई बालवालिकाको गुनासो सुनी अभियानको सुरुवात त प्रेमबहादुर विश्वकर्मा अध्यक्ष हुँदाबाटै सुरु भएको थियो । हामीले पनि यसलाई निरन्तरता दिदै स्थानियसंग हातेमालो गर्दै विशेष गरि ग्रामिण भेगका विद्यालय, दुर्गम क्षेत्रहरु छनोट गरि कार्यक्रम लैजाने योजना बनाएका छौँ ।
५) आफ्नो कार्यकालमा बालवालिकाको क्षेत्रमा के गर्ने योजना बनाउनुभएको छ ?
गत साउन ४ गतेदेखी बालसञ्जालको भेला तथा अधिवेशनबाट म बालसञ्जालको नेतृत्व समालेको छु । सञ्जालको कार्यसमितिका १३ सदस्यीय छौँ । गत साउन ७ गते जिल्ला बालसञ्जालको प्रथम बैठक कालिक विकास केन्द्रको आर्थिक सहयोगमा बसेको अवगत गराउन चाहान्छु । सोही बैठकबाट आगामी बैठकहरुका लागि गाउँपालिका तथा नगरपालिकामा सहयोगका लागि निर्णय गरेर अगाडी वढेका छौँ । साथै जिल्ला बालसञ्जाल फेसवुक पेज निर्णय अनुसार हाँल पेज सञ्चालनमा आएको जानकारी गराउँदछु । त्यस्तै प्युठान जिल्लालाई बालविवाह, बालहिंसा, ,बालश्रम, बालदुव्र्यवहार जस्ता बालवालिकासंग प्रत्यक्ष रुपमा असर गर्ने जस्ता कुराको न्युनीकरण गर्दै अबको तीन वर्ष भित्र बालमैत्री प्युठान बनाउनमा म मेरो कार्यकालमा अति नै क्रियाशील रुपमा प्रतिवद्धता जाहेर गर्दछु ।

६) समग्र बालमैत्री प्युठान बनाउन तपाईको कार्ययोजना के?
समग्र प्युठानलाई बालमैत्री बनाउनु भन्दा पहिले यहाँ जिल्ला बालसञ्जालनै व्यवस्थित नरहेको हुँदा पहिलो एउटा सूचक नै कार्यान्वयन नभएको जानकारी गराउँदछु । अबको दिनमा जिल्लामा कुनै पनि पक्ष बालसञ्जालप्रति क्रियाशिल नभएको मैले महशुस गर्न बाध्य भएको छु । जबसम्म जिल्ला बालसञ्जालनै सरलीकरण गरि जिल्लामा बालअधिकार समिति गठन गरि स्थापित गर्न सकिदैन भने भोलीका दिनमा जिल्लामा बालसञ्जाल नरहने मैले महशुस गरेको छु । हामी जिल्ला बालसञ्जाल स्वयंम आफुनै जोखिममा रह्यौ भने कसरी अन्य पालिकाहरुमा अधिकार र कर्तव्यको पार्ट सिकाउने आधार बन्दछ ? जसरी जिल्लामा हरेक श्रोत र साधनहरुको पहिचान गर्ने जिम्मा स्थानिय सरकार गाउँपालिका तथा नगरपालिकामा आएता पनि जसरी जिल्लामा अझैपनि जिप्रका, जिसस, ईत्याथी अझैपनि जिल्लामा रहनुपर्छ भन्ने महशुस भए झै प्रत्येक गा.पा. तथा न.पा. मा विभिन्न बालसञ्जाल रहेता पनि जिल्ला बालसञ्जाल समन्वय समितिको माध्यममा रहेर भएपनि काम गर्ने वातावरण सम्बन्धित सरोकारवाला प्रति जिल्ला बालसञ्जालको अनुरोध रहेको बताउदछु ।
७) अन्त्यमा केहि भन्नु छ ?
अन्त्यमा के भन्न चाहान्छु भने बालबालिका भविश्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदार पनि हुन भन्दै गाउँपालिका तथा नगरपालिका का प्रमुखहरुलाई आफ्ना बालवालिकाहरुको चौतर्फी विकासका निम्ती सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु ।


सम्बन्धित पोस्टहरू

Top