शुक्रबार, बैशाख ७, २०८१ | Friday 19th April 2024

वहुवुद्धि र सिकाइमा यसको प्रयोजन


सामान्यतया ज्ञान र सीप हासिल एवं लागु गर्न सक्ने, निर्णय लिन सक्ने र समस्या समाधान गर्न मानिसमा भएको क्षमतालाई वुद्धि भनिन्छ । बिसौँ शताब्दीको सुरुवातसँगै वुद्धि परिक्षण (IQ test) बिधिको बिकास गरियो । जस अनुसार १०० अङ्कलाई औसत मानेर गरिने यो बिधिले मात्र तार्किक, भाषिक तथा गणितीय क्षमतालाई मापन गर्न सक्दछ । अन्य क्षमताको सवालमा यो बिधि उपयोगी छैन् किनकी मानिसमा ती बाहेक धेरै प्रकारको वुद्धि हुन्छ । उक्त तथ्यको पुष्टि गर्न सन् १९८३ मा हारवर्ड बिश्वबिद्यालयका ज्ञान र शिक्षा बिषयका प्राध्यापक हवार्ड गार्डनरले आफ्नो पुस्तक“दिमागको खाका(Frame of Mind) र्माफत बहुवुद्धि सिद्धान्त ( Theory of Multiple Intellegences) अघि सारे । यो मानव दिमागको बहुलबादि दृष्टिकोण हो । अहिले सम्ममा एक दर्जन भन्दा बढी बुद्धिहरुको पत्ता लगिसकेको छ तापनि गार्डनरका अनुसार मानिसमा भाषिक, तार्किक वा गणितीय, शारिरीक गतिजन्य, साँगीतिक, स्थानिक,अन्तरबैयक्तिक, बैयक्तिक र प्राकृतिक गरी आठ प्रकारका वुद्धिहरु हुन्छन् ।उनले भनेका छन् कि धेरैजसो ब्यक्तिहरुमा सबै वुद्धिहरु पाइन्छन् तापनि कुनै ब्यक्तिमा खास प्रकारको वुद्धिको प्रभाव ज्यादातर रहन सक्दछ । उनको तर्क छ, शिक्षाले सबै प्रकारका वुद्धिलाई समेटेको हुनुपर्दछ । तर, हाम्रो देशको शिक्षालाई नियाल्दा, यसले भाषिक र तार्किक वा गणितीय बुद्धिलाई मात्र प्राथमिकता दिएको देखिन्छ । जसले गर्दा अन्य वुद्धिको प्रभाव बढी भएको सिकारुले शिक्षाबाट धेरै लाभ लिन मुस्किल पर्ने स्वभाविक छ । अन्य वुद्धिको प्रभाव प्रबल हुने बालबालिकाहरुको जीवन उपलब्धिबिहिन हुने सम्भावना धेरै रहन्छ । तसर्थ पाठ्यक्रम, पाठ्यपुस्तकहरु, शैक्षिक सामग्रीहरु, एवं शैक्षणिक बिधिदेखि मुल्याङ्कन प्रणाली सम्म फेरबदल गरी अन्य वुद्धिका बालबालिकालाई समेत लाभ हुने गरी शैक्षिक योजना निर्माण जरुरी देखिन्छ ।
आठ प्रकारको वुद्धिमध्ये शब्दको बुझाइ, छनोट, प्रयोग र क्रमसँग जोडिएको क्षमता भाषिक वुद्धि हो । साहित्यकार, कवि, राजनैतिक नेता, पत्रकार,उद्घोषकजस्ता पेशाका ब्यक्तिहरुलाई आबश्यक वुद्धि यहि हो । तर्कको माध्यमबाट समस्याको समाधान तथा गणितीय क्षमतालाई तार्किक तथा गणितीय वुद्धि हो । यो वुद्धिको पकड राम्रो हुनेहरु बैज्ञानिक, गणितिज्ञ, दार्शनिक, लेखापरिक्षक आदि पेशा उपयुक्त हुन्छ । बैज्ञानिक आइन्स्टाइन यो वुद्धि अत्यधिक ब्यक्ति थिए । शारिरीक क्रियाकलाप,हाउभाउ र गतिमा कुशलता तथा सामग्रीहरुको प्रयोग र गतिको माध्यमबाट छिटो सिकाइ गर्न सक्ने क्षमतालाई शारिरीक गतिजन्य वुद्धि भनिन्छ । गाडि चालक, नृत्यकार,खेलाडि, हस्तकलाकार, सर्जन, फिल्म स्टार, आबिष्कारक इत्यादिमा यो वुद्धिको बढी प्रभावकारी हुन्छ । माईकल ज्याक्शन, चार्लिच्याप्लिन, सन्दिप लामिछानेहरु यसका उदाहरणहरु हुन् । साँगितिक बुद्धिको प्रभाव धेरै हुनेहरुमा प्रकृतिमा पाइने आवाज लगायत संगित,लय, धुन र तालको माध्यम बुझ्न र अभिब्यक्त गर्न सक्ने क्षमता धेरै हुन्छ । यो वुद्धिका ब्यक्तिहलाई सुहाउने पेशाहरु गायक,गीतकार, संगीतकार इत्यादि हुन् ।
संसारलाई ठिक संग देख्ने, बुझ्ने र बिबिध पक्षहरुको निर्माण तथा स्थनान्तरण गर्ने क्षमता सँग सम्बन्धित स्थानिक वुद्धि अन्य भन्दा कम परिचित बौद्धिक क्ष्ोत्र हो । बास्तुबिद, इन्जिनियर, चेश खेलाडि,न्याविगेटर, हाइकर आदिले यो बुद्धिको राम्रो प्रदर्शन गरेका हुन्छन् । यो बौद्धिकता धेरै भएका बिद्यार्थीहरुको लागि कक्षाकोठा बाहिरको सिकाइ अत्यन्त फलदायी हुन्छ । अन्तरबैयक्तिक वुद्धि भन्नाले अर्को ब्यक्तिको बारेमा जान्न, बुझ्न, चिन्न र सम्बन्ध जोड्न वा कायम राख्न सक्ने बौद्धिक क्षमता हो । मानिसहरुको स्वाभाव,मनस्स्थिति,बिबिधता एवं इरादालाई छुट्याउन सक्ने यो क्षमता, धार्मिक एवं राजनैतिक ब्यक्ति, शिक्षक, परामर्शदाता, मनोबैज्ञानिक, सामाजिक परिचालक आदिमा आबश्यक वुद्धि हो । यस्ता ब्यक्तिहरुले युगल वा समुहगत छलफल बिधिबाट छिटो सिकाइ गर्न सक्दछन् । बैयक्तिक बुद्धि भन्नाले आफ्नै भावना वा बिचारलाई बुझ्ने, आफ्ना कमजोर तथा सवल पक्षहरुको बारेमा मुल्याङ्कन गर्न सक्ने र सचेतापूर्वक काम गर्न सक्ने क्षमता हो । यो वुद्धिले मानिसलाई जीवनको सहि बाटो पहिल्याउन र आफू सुहाँउदो पेशा छनोटमा मार्गदर्शन गर्दछ । भनिन्छ , गौतम बुद्धमा यो बुद्धि अधिक थियो । गार्डनरले आठौँ वुद्धिको रुपमा अघि सारेको प्राकृतिक वुद्धि हो । यो प्रकृति, सजीव प्राणी,बोट बिरुवा तथा खनिजलाई गहिरो गरी बुझ्ने,बर्गीकरण गर्ने र ग्रहण गर्ने क्षमता हो । बोटानिष्ट, वातावरणविद, संरक्षणविद, जीव बैज्ञानिक, भूगर्भशास्त्री,भान्से जस्ता पेशाहरु यो बौद्धिकता सँग सम्बन्धित छन् । बैज्ञानिक चाल्स डार्बिन यसै क्षेत्रका बौद्धिक प्रतिभा मानिन्छन् ।
प्राध्यापक गार्डनरका अनुसार प्रत्येक ब्यक्तिमा भिन्न प्रकारको बौद्धिक संरचना (Intellectual composition) हुन्छ । ती बिभिन्न बौद्धिकता दिमागको फरक फरक भागहरुबाट सञ्चालित हुन्छन् । ती मध्ये कतिपय भागहरु मिलेर साथसाथै काम गर्दछन् भने कतिपयले एक्लाएक्लै । बौद्धिक बिबिधताका धेरै कारणहरु हुन्छन् । ती मध्ये ब्यक्तिको सँस्कृति र बाताबरणको प्रभाव अत्यधिक रहन्छ । परन्तु कुनै पनि वुद्धिलाई उपयुक्त सिकाइको माध्यमबाट बृद्धि गर्न सकिन्छ । स्पष्ट हुनु पर्ने कुरा के छ भने सबै सिकारुहरुमा एकै प्रकारको बौद्धिक स्तर र प्रकार हुदैन भने शैक्षिक बिधि, प्रबिधि, सामग्री तथा मुल्याङ्कन प्रणालीमा पनि बिबिधताको आबश्यकता पर्दछ । यो सिद्धान्तले प्रत्येक बिद्यार्थीको ब्यक्तिगत भिन्नताको सम्मानलाई जोड दिन्छ । तसर्थ सिकाइमा सान्दर्भिकता र बिबिधताको आबश्यकता छ । बुद्धिकेन्द्रित सिकाइले प्राथमिता पाउनु अनिवार्य हुन्छ । धेरै प्रकारका बुद्धि अनुसारको पढाइ गर्दा कक्षा कोठाभन्दा बाहिरबाट सिकाइ सञ्चालनको अवसर बिद्यार्थी शिक्षक दुबैलाई दिनु पर्छ । जस अन्र्तगत बिबिध प्रकारका सँग्रहालय ,बिज्ञान केन्द्र, आबिस्कार केन्द्र,सामुदायिक केन्द्र, कन्र्सट, कार्यस्थल इत्यादि अवलोकन् र क्षेत्र भ्रमण बाट सिक्ने मौका उपलब्ध हुनु पर्दछ । साथै कक्षा कोठामा कलात्मक,साँगीतिक, ऐथ्लेटिक्स, चलचित्र, प्रकृति इत्यादिको अनुभव सहित बिद्यार्थीको उमेर, रुचि, क्षमता र आबश्यकताको आधारमा गरिने सिकाइलाई महत्व दिइन्छ । बिभिन्न प्रकारका बुद्धि एवं बुझाइलाई महत्व दिन प्रस्तुती, परियोजना, समस्या समाधान, गरेर सिक्ने, समुह कार्य, Reflective, ध्यान, युगल वा समुहगत सिकाइ,ड्रिल, अभिनय र प्रर्दशन बिधिबाट सिकाउने । शैक्षिक सामग्रीहरुको रुपमा श्रब्यदृश्य सामग्रीहरु, चलचित्र, प्राकृतिक एवं दैनिक जीवनका वस्तुहरु, चित्र तथा र्काटूनहरु, सुचना तथा सञ्चार प्रबिधि इत्यादिको प्रयोग सहित मिश्रित एवं एकीकृत सिकाइमा यो सिद्धान्तले जोड दिएको छ । यो सिद्धान्तले परम्परागत मुल्याङ्कन प्रक्रियामा ब्यापक रुपान्तणको वकालत गर्दछ । लिखित, मौखिक परीक्षाको अलावा बिद्यार्थीको बुझाइलाई चित्रकला,अडियो टेप, फोटोग्राफी, परियोजना कार्य तथा अन्य माध्यमबाट ब्यक्त गर्ने अनुमति जरुरी ठान्दछ । साथै मुल्याङ्कनको लागि बिद्यार्थीको Portfolio लाई पनि मुख्य आधार मान्ने गरिन्छ ।

 

प्राध्यापक गार्डनरको यो सिद्धान्तलाई कतिपय बिद्वानहरुको आलोचनाको बावजुद पनि शिक्षा क्षेत्रमा यसको जर्बजस्त प्रभाव छदैछ । बिद्यालय तहको शिक्षामा बिद्यार्थीहरुको प्रतिभा पहिचानको लागि यो सिद्धान्तको प्रयोजन निकै ठूलो देखिन्छ । यस सिद्धान्तमा टेकेर मानिसका अन्य बौद्धिक क्षमताको खोजीकार्य पनि जारी छ । बहुबुद्धि सिद्घान्तले शिक्षामा एकल बुद्घि उपगमका बिबिध पक्षहरुलाई चुनौति दिएको देखिन्छ । भाषिक र तार्किक बुद्घि बाहेक अन्यलाई पनि समान महत्व दिएर सिकाइ क्रियाकलाप सञ्चालन गर्दा पाठ्क्रम, पाठ्यसामग्री, सिकाइ प्रबिधि, बिद्यालयको पूर्बाधार एवं सुबिधाहरु मात्र होइन मुल्याङ्कन प्रणालीमा समेत ब्यापक परिबर्तन आबश्यक पर्दछ । सबै बुद्धिहरुलाई मलजल र मान्यता हुनेगरी सिकाइ गर्नको लागि परम्परागत शिक्षणको सट्टामा आधुनिक तथा बैज्ञानिक शैक्षणिक उपागमको आबश्यकता छ । त्यस प्रकारको शिक्षाबाट उत्पादित जनशक्तिले मात्र देश बिकासको बिभिन्न क्षेत्रमा योगदान पुग्ने आशा गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top