Invalid Conversion Type | Saturday 19th October 2019

५ वर्षमा सरुमारानीको मुहार फेरिने छ


Hamroekata ४ फाल्गुन २०७५

झग बहादुर विश्वकर्मा
अध्यक्ष सरुमारानी गाउँपालिका

मुलुकमा स्थानीय तहको निर्वाचन भएको १ बर्ष भन्दा बढी समय भईसकेको छ । निर्वाचित जनप्रतिनिधीहरुले आ–आफ्नै शैलीका जिल्लाका सवै स्थानीय तहहरु मार्फत आ–आफ्ना नीति तथा कार्यक्रमहरु जनता माझ संचालन गरीरहेका छन् । सुरुको वर्ष स्थानीय निकायहरुले नीति निर्माणमै धेरै समय बिताएका छन् किनकि त्यो स्वभाविक पनि हो तर आगामी दिनमा भने स्थानीय निकायले हरेका आफ्ना काम कार्वाहीहरु ती नीति नियमहरु भित्र रहेर जनता केन्द्रित बनाउन जरुरी छ । अब स्थानीय तहहरुले जनतालाई सम्बृद्ध बनाउने योजना बनाई सो अनुसार अगाडि बढ्न जरुरी छ । यसै सन्दर्भमा जिल्लाको सरुमारानी गाउँपालिकाले पालिकाका जनताको आर्थिक सम्बृद्धिका लागि के के कस्ता योजनाहरु अगाडि सारेको छ, अबको ५बर्ष पछि सरुमारानीलाई कस्तो देख्न पाइएला लगायतका विषयमा हामीले सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्मा संग कुराकानी गरेका िथयाै प्रस्तुत छ  हाम्रा सहकर्मि नेत्र बहादुर कुँवरले गर्नुभएको कुराकानीका संपादित अंश

सरुमारानी गाउँपालिकाले अगाडि सारेका प्रशंसागर्न योग्य कार्यक्रमहरु के के होलान् ?
अहिले यो वर्ष हामीले कानूनहरु बनाउने योजनाका साथ अगाडि बढेका छौ । जस अनुसार गाउँपालिकाबाट ४ वटा ऐन, ४ वटा विधेकहरु पारित भएका छन् । यो एउटा कानून निर्माणको पक्ष भयो भने अर्को गत वर्ष भन्दा केही नयाँ कार्यक्रमहरु हामीले अगाडि सारेका छौ । हामीले शैक्षिक गुणस्तर सुधारका लागि कार्यक्रम अगाडि सारेका छौं , कतिपय योजनाको डिपिआर बनाउने अनि सडक सम्बन्धी गुरु योजना बनाउने र आवधिक योजना पनि निर्माणगर्ने भनेर सोंच राखेका छौ । यो पनि हाम्रो गत वर्ष भन्दा नयाँ कार्यक्रमहरु हुन् । त्यस बाहेक यो वर्ष हामी योजना संचालन गर्दा गत सालका कतिपय सिकाइहरुलाई अनुशरण, कतिपय कमी कमजोरीहरुलाई सुधार गरेर नयाँ ढंगले अगाडि बढाउने योजनामा पनि केही मापदण्डहरु बनाएरै योजना संचालन गर्ने भनेर विधि तय गरेका छौ । जस्तै – सडक निर्माण सम्बन्धी अथवा अन्य उपभोक्ता समितिहरुले कामगर्ने सम्बन्धमा पनि हामीले गतसाल भन्दा पनि अलिबढी पारदर्शी, जवाफदेही बनाउने, उपभोक्ता समितिहरुलाइ अनिवार्य रुपमा जनश्रम जन सहभागिता परिचालन गर्ने कुरालाई फोकस गरेका छौं । सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रमपनि हामीले यो वर्ष संचालन ग¥र्यौ । त्यसैगरी ठूलाठूला योजनाहरु जस्तो– वृहत खानेपानी १ करोड भन्दा बढी लागतमा वडा न ३ को वृहत खानेपानी संचालन हुँदैछ । त्यो लगायत पर्यटन क्षेत्रलाई लक्षित गरेर यहाँ किमिचौर दहको संरक्षण गर्ने, रानीकुवा गढी दरवारको संरक्षण गर्ने ,कुठा दरवारको संरक्षण गर्ने, त्यहाँ सम्म सडक पु¥र्याउने, मदन आश्रित स्मृति पार्क बनाउने ,यहाँका पुराना मन्दिरहरुलाई जिर्णौद्वार गर्ने, ऐरावतीको वारिपट्टिको क्षेत्रमा मन्दिर निर्माण गर्ने ,त्यहाँ क्रमशः धर्मशाला बनाउदै जाने, स्वर्गद्वारी आउने पर्यटकहरुलाई गेट सम्म पु¥याउने र बासबसाल्ने यो ढंगका योजना चाहि हामीहरुले अगाडि बढाउने कोसिस गरेका छौं । यो वर्ष हामीले अलिकति विकास निर्माण, भौतिक निर्माणको अलावा समाजको एउटा सफ्टवेयरको पाटो सामाजिक, सांस्कृतिक चेतना माथि उठाउने सामाजिक, सांस्कृतिक हिसावले रुपान्तरण गर्ने त्यो ढंगको प्रत्येक वडामा २ वटा अभियान संचालन गर्ने। जस्तै– कही बालविवाह न्यूनीकरण सम्बन्धी होला कही चाहि सहकारी अभियान होला कतै सरसफाई अभियान होला, कतै लैिगक हिंसा विरुद्धको अभियान होला, अब यस्ता प्रकारका अभियान संचालन गर्ने योजना बनाएका छौ । कृषि, पर्यटन, यातायात ,पूर्वाधार, शिक्षा , स्वास्थ्य लगायत सवै क्षेत्रको बिकास हुने हिसावले हामीले माथि भनेका लगायतका कार्यक्रमहरु नै हाम्रो गाउँपालिकाका प्रशंसा गर्न योग्य कार्यक्रमहरु हुन् भन्ने लाग्दछ ।
ती कार्यक्रमका विशेषता तथा कार्यक्रम बारे अलि प्रष्ट पारिदिनुहुन्छ कि ?
हामीले अगाडि सारेका यी कार्यक्रमहरुले समाजलाई अलि चेतनाबृद्धि गर्ने कुरामा महत्वपूर्ण भुमिका खेल्दछ । नीति निर्माणले मात्र समाज बदलिदो रहेनछ मान्छेको चेतनास्तरमा बिकास गरी समाजका विकृतिहरुलाई हटाउन नसक्नेहोभने समाजमा रहेका कैयन कुराहरु छन् जस्तो– हिंसाका कुराहरु, बाल बिवाहका कुराहरु, सरसफाईका कुराहरु ,त्यसै गरी आफ्नै जीवनलाई परिवर्तन गर्ने सहकारी सम्बन्धी ज्ञानका अभावका कुराहरु यी कुराहरुलाई परिवर्तन गर्नु पर्दछ। यसो नगरीकन हामीले अरु भौतिक निर्माणका कुराहरु पूर्वाधार निर्माणका कुराहरुले मात्रै पुग्दो रहेनछ भन्ने सोंचका साथ यस्ता खालका अभियानहरु हामीले संचालन गर्न खोजेकाछौ । तर कार्यान्वयनको कुरा अत्यन्तै जटिलछ । कार्यान्वयन ठीक ढंगले गर्न सकियो भने एक हद सम्म समाजको एउटा हिस्सालाई हामीले यसको चेतनालाई परिवर्तन गर्न सक्छौ। त्यसो गरीयो भने अन्य विकासको कुराहरु पनि दिगो हुन सक्छ। जनता आफैपनि विकासमा सरिक हुन सक्छन्, जनताले विकास आफै गर्न सक्छन् भन्ने सोंचहो । अन्यथा असचेत जनताको बीचमा विकास गरे भनेर विकासका कुरामात्र गरेर समाज बदलिदो रहेनछ भन्ने सिकाइका साथ यसरी गर्न खोजिएको हो । यस वर्ष हामीले एउटा फोकस शिक्षा क्षेत्रलाई गरेका छौ । शिक्षाको गुणस्तर सुधारमा केही विद्यालयहरुलाई बजेट सहयोगका साथ गुणस्तर सुधारलाई अनिवार्य रुपमा हामीले त्यसलाई कडाईका साथ लागु गर्न खोजेका छौ । अब यथास्थितिमा सामुदायिक विद्यालयहरु रहनु हुदैनभन्ने मनसायका साथ विद्यालयको सिकाइ उपलब्धि बृद्धि गर्ने हिसाबले बारम्बार पालिका स्तरीय सबै विद्यालयका प्रअहरुको भेला, गर्ने छलफल गर्ने अन्तरक्रिया गर्ने अनि प्रत्येक विषयको सिकाई उपलब्धिको लक्ष्य निर्धारण गर्न लगाउने ,प्रत्येक प्रअले आफ्ना स्टाफहरु संग आप्mना विषयगत शिक्षक हरुसंग संझौता गर्ने कार्यसंपादन संझौता गरेर मात्रै शिक्षकलाई कक्षा कोठामा जानदिने उदाहरणका लागि एउटा प्रअ ले कुनै विषयको शिक्षक संग मैले आगामी वर्षमा यो यो उपलब्धि हासिल गर्ने छु यो विषयमा यति शैक्षिक सिकाइ उपलब्धि मैले बृद्धि गर्ने छु भन्ने करार संझौता गराएर काममा लगाउने प्रणालीको बिकास गर्न खोजिएको छ । यसै गरी यस वर्ष प्रा.वि नि.मा.वि र मा.वि गरेर ४९ जना शिक्षकहरुको गाउपालिकाले अनुदान कोटा तयगरेको छ सर्वेक्षणका आधारमा कहाँ कहाँ शिक्षक संख्या कम छ ती विद्यालयको सर्वेक्षण गरेर छलफल गरेर हामीले अनुदान कोटा दिने निश्चित गरेका छौं । यी सवै कार्य गरी सकेपछि विज्ञापन गरेर धमा धम परीक्षा चलिरहेको थियो अनुदान कोटाको ४९ जना शिक्षक विद्यालयहरुमा पठाउँदै छौ यो पनि एउटा शिक्षा क्षेत्रको उल्लेखनीय उपलब्धिहो भन्ने लाग्दछ ।
गाउँपालिकाका जनताको आर्थिक सम्बृद्धिका लागि आगामी योजना कस्ता छन् ?
यहाँको आर्थिक सम्बृद्धि भनेको यहाँको कृषि, पशुपालन, स–साना उद्योगहरु नै हुन् । अहिले सम्म आर्थिक सम्बृद्धिमा पर्यटनको ठूलो हिस्साको बिकासहुन सकेको छैन । स्वर्गद्वारी आउने थुप्रै पर्यटकलाई हामीले हाम्रो सरुमारानीमा अथवा किमिचौरदह, ऐरावती क्षेत्रमा पु¥याउन सकेका छैनौ । पर्यटनको सम्भावना छ तर त्यसलाई उपयोग तत्कालै गर्ने सम्भावना छैन । तर मूलतः आर्थिक सम्बृद्धिका लागि यहाँको कृषि र पशुपालन यो २ वटा क्षेत्रलाई अलिकति अगाडी बढाउनु पर्छ भन्ने हिसाबले हामीलेगत वर्ष देखिनै किसानसंग गाउँ सरकार कार्यक्रम संचालन गरेका छौ । यस वर्ष पनि त्यसमा १ करोड बजेट छ त्यो मार्फत हामीले यहाँको वास्तविक किसानहरुलाई उत्प्रेरणा दिने हिसाबले कृषि व्यवसायिक फर्महरुलाई अनुदानको व्यवस्था गरेकाछौ र यो वर्ष हामीले गत बर्ष भन्दा फरक ढंगले संचालन गर्दैछौ ।
यहाँलेभनेकायोजना पुरा हुन्छन् नै भन्ने आधार के छ त ?
योजनाहरु पहिलो कुरा त जनतामा विश्वासगर्ने कुराहो । जनतालाई विश्वास गरेर जनताको आवश्यकता चाहना तथा यहाँको एउटा ग्राउण्ड रियालिटिको आधारमा यस प्रकारका योजना कार्यक्रमहरु अगाडि सारिएका छन् त्यसले गर्दा यी योजनाहरु सफल हुन्छन् । दोस्रो कुरा यहाँ वर्षाै देखि कृषि पशुपालन क्षेत्रमा राज्यको उपेक्षा भनौ अथवा सदरमुकाम देखि टाढा रहेको क्षेत्रपनि भएको हुनाले जनताहरु कृषि लगायत विभिन्न क्षेत्रको सेवाजुन हो त्यसको पहुँचवाट टाढा रहेको अवस्था भएको हुनालेपनि जनताहरुलाई उत्साहित गरेको छ । जनताको उत्साह यहाँको आवश्यकता यो सबैलाई मध्यनजर गर्दा खेरी हामीले अगाडि सारेका योजनाहरु सफल हुन्छन् र गतसालका परीक्षणले पनि यो सफल हुने निश्चित देखिएको छ ।
काम गर्ने दौरानमा यहाँले भोगेका समस्याहरु केही छन् कि ?
समस्याहरुको सन्दर्भमा कुरा गर्दा पहिलो समस्या त साधन स्रोतकै समस्या हो । जनताका आकांक्षाहरु अत्यन्त चुलिएका छन्। जनताका आकांक्षाहरु अति धेरै भएको हुनाले त्यसको सापेक्षतामा हामीसंग स्रोत साधनको सीमितता यो २ वटा कुरा जोडिएका छन् । यो एउटा समस्याका साथै अर्को कतिपय समन्वयका समस्या पनि छन् । जस्तो– हामीले अहिले सम्म जिल्ला समन्वय समितिको खासै भूमिका त देखेका छैनौ तै पनि त्यसको समन्वयकारी भूमिकाहुनु पर्नेहो त्यो पनि अभाव देखिन्छ । वन कार्यालयहरु छन् ती आफ्ना तरिकाले अगाडि बढिरहेका छन् । कतिपय नीतिगत कानूनी समस्याहरु पनि होलान् साझा अधिकारका सूचिका विषयमा सबैभन्दा सुरुमा संघले कानून बनाउनुपर्छ त्यसपछि प्रदेश र स्थानीय तहले कानून ल्याउनु पर्ने हुन्छ यसमा पनि समस्या छन् । कर्मचारी समायोजन प्रक्रिया नटुङ्गेको हुनाले कर्मचारीहरुको अत्यन्त अभावछ । हामीले गत आर्थिक वर्षमा एउटा वडा सचिवाट ३ वटा वडा संचालन गर्नु परेको थियो। अहिले अलि सहज भएको छ । तैपनि यो समायोजन प्रक्रिया नटुङ्गिएको हुनाले समस्या भएकै छ । आप्mनै कार्यालय छैन। भाडामा बस्नु परेको छ त्योपनि अर्को समस्याको रुपमा रहेको छ । यस्ता दर्जनौ समस्याहरु छन्भन्न सकिन्छ तर यसकाबावजुत पनि हामी अब कामगर्ने कोसिस गरिरहेका छौ ।
विषय ज्ञानका हिसाबले यहाँ ग्रामीण विकासको विद्यार्थीहुनुहुन्छ, सैद्धान्तिक बुझाइ र व्यवहारिक कार्यशैलिलाई अहिलेको विकास निर्माणमा कसरी नियाल्नु भएको छ ?
सैद्धान्तिक विषय र व्यवहारिक बीचमा ग्याप रहने गर्दछ । भन्नलाई जति सजिलो हुन्छ गर्नलाई अत्यन्त चुनौतिपूर्ण छ, कठिनाई छ । अहिले एकीकृत विकास योजना तर्जुमा गर्नु पर्ने, सैद्धान्तिक हिसाबले भन्दाखेरी एकीकृत विकास योजना तर्जुमा गरेर अगाडी जानु पर्ने छ । हाम्रो अहिलेको योजना तर्जुमा सम्बन्धी विधि प्रक्रियाले पनि त्यो भन्छ र उत्पादन मूलक प्रोजेक्टहरु हामीले छनौट गर्नु पर्दछ। जसले जनताको जीवनस्तर उठाउन मद्दत गर्दछ। तर पनि व्यवहारमा कस्तो देखिन्छ भने स–साना योजनाहरु १५ हजार २० हजारका कार्यमा बजेट छर्नुपर्ने त्यो खालको वाध्यकारी अवस्था पनि छ यसले गर्दा जसरी हामीले विकासका योजनाहरु बनाउनु पर्ने हो त्यो योजना निर्माणमा कठिनाई पर्ने एउटा समस्या देखिएको छ। अर्को कुरा वडावासीहरुको मानसिकता अस्वभाविक त भन्दिन वडावासीहरुको मानसिकता पनि कस्तो छ भने यति सम्मको बजेट सिलिङ पाउनु पर्छ भन्नेहुन्छ। त्यसले गर्दा खेरी उहाँहरुलाई सिलिङ नदेइकन यो बजेट तर्जुमा समितिले आप्mनै गाँउपालिकामा बसेर राय सल्लाह परामर्श गरेर विकासका योजनाहरु छनौटगर्ने कुराहरु अत्यन्त कम भएको छ अथवा हामीले प्रत्येक वडालाई सिलिङ दिनुपर्ने सिलिङ दिदाखेरी मानिलिनुस कुनै वडाले १ करोड सिलिङ प्राप्त ग¥यो भने त्यसले १५ हजार २० हजार २५ हजारका योजनाहरु बनाएर सयको हाराहारी १ सय भन्दा बढी योजना बनाएर ल्याउने सबै वडाहरु बाट गर्दा ५–६ सय योजना बन्ने र ती योजनाहरु कार्यान्वयन गर्नका लागि तिनको बीचमा रेखदेख गर्ने, मोनिटरिङ्ग गर्ने कुराहरु त्यसको मूल्यांकन गर्ने यी सबै मा प्राविधिक हिसाबले पनि व्यवहारीक हिसाबले पनि झनझट हुने खालको खतरा छ । यसले योजनाको जनशक्ति पनि बढी लाग्ने जस्ता विभिन्न कठिनाई देखिएको छ जबकि यस्तो नहुनु पर्ने हो यो ढंगले एउटा कुनै गाँउपालिकाले ३ सय ४ सय योजना सम्पन्नगर्ने कुराले त्यतिराम्रो गर्दैन। यो हरेक नेपाल भरिनै देखिएको समस्याहो र सरुमारानीमा पनि हामीले गएको वषर्मा भन्दा भण्डै आधा योजना घटाएका छौ। गएको वर्षमा हामीले करिव ५ सय जति यस्ता प्रकारका योजनाहरु थिए भने यो वर्ष हामीले त्यसलाई घटाएर ३ सयको हाराहारीमा ल्याउन सफल भएका छौं। तैपनि यो प्रकारको कनिका छराईको तरिका हो । यो व्यवहारमा यस्तो भईरहेको छ जबकि सैद्धान्तिक हिसाबले यो अत्यन्तै गलत छ, बेठिक छ। त्यसैले बिकास सम्बन्धी बुझाइमा नै समस्या छ, जनप्रतिनिधिहरुमा समस्या छ, कर्मचारीहरुमा समस्या छ, नीति निर्माताहरुमा पनि अब समस्या होकि जस्तो लाग्ने, त्यसले गर्दासिद्धान्त र व्यवहारका बीचमा ठूलै खाडल छ भन्न सकिन्छ ।
 यहाँको गाउँपालिकाको प्रवक्ताले सरुमारानीको कायापलट गर्ने भिन्दै प्रस्ताव पेश गर्नु भएको छ। प्रस्तावका विषयमा यहाँको धारणा के छ ?
हाम्रो गाउँपालिकाको बिकासको लागि प्रवक्ताले पेश गरेको प्रस्तावका विषयमा मेरो धारणा सकारात्मकनै छ। आर्थिक विकासका निम्ति हामी सबैको साझा चाहाना आकांक्षा हुनु पर्दछ, यसमा कुनै दुइमत छैन । हाम्रो प्रबक्ताले प्रस्तावमा उल्लेख गरेको कुरा जुन छ त्यसमा २ वटा कुरा छन्– एउटा तलपट्टि बड्डाडा देखि मुनिबाट सुरुङ्ग खन्ने, त्यो सुरुङ्ग बड्डाडा मुनिबाट निकालेर वाङ्गेशाल एरियामा निकाल्ने। त्यहाँको जंगल काटेर पहाडका मानिसहरुलाई त्यहाँ बस्ती व्यवस्थापन गर्ने, अनि त्यही एरियामा नहर बनाउने र त्यो एरीया सिंचित गर्ने मूलतः यही कुरा उल्लेख गर्नु भएको छ । यहाँ चाहि तलपट्टि जहाँबाट उहाँले सुरुङ्ग खनेर निकाल्नुपर्छ भन्नु हुन्छ तलपट्टि नौमुरे छ नौमुरेमा जाने पानी डाइभरर्सन गरेर अन्त लैजान मिल्ने कि नमिल्ने, त्यसो भएको हुनाले त्यहाँको चुरे क्षेत्र पनि हो हाम्रो चुरे मुनि जंगल काट्ने भन्ने कुरा ल्याउदाखेरी कतिको गर्नसकिएला त्यसका कानूनी अर्चनहरु के के होलान्? अनि नौमुरेमा जाने पानीलाई डाइभर्सन गरेर अन्यत्र खसाल्न सकिन्छ सकिन्न त्यसको लागि हाम्रो साधन स्रोतले पुग्ने संभावनात केही छैन त्यसको लागि हामीले प्रदेश केन्द्रबाट अनुमति प्राप्त गर्छौ गर्दैनौ, यस्ता थुप्रै सवालहरु छन् तरपनि जे कुराहरु उठेका छन् आफैमा नराम्रो भनेर भन्न सकिने कुरा होइन। त्यसका कानूनी पाटाहरु त्यसकाव्यवहारिकताहरु, त्यसका वित्तिय साधन स्रोतका कुराहरु ,त्यसका जटिलताहरु संभावनाहरुको विषयमा अध्ययन गर्नका लागि मैले प्रस्ताव पेश गर्नु भएको प्रवक्ताकै नेतृत्वमा एउटा कार्यदल गठन गरेर अगाडि बढाउने सोंच गरेको छु ।
अबको ५ वर्षमा सरुमारानीलाई कस्तो देख्न पाइएला ? यहाँको सपना बताईदिनुस् न ।
अबको ५ वर्ष पछाडि सरुमारानीमा हरेक बस्तिमा पहिलो सडक संजालले जोडिएको हुने छ। हरेक बस्ती स्वास्थ्य सेवाले जोडिएको हुने छ। हरेक बस्तीमा खानेपानीको हाहाकार जुन अहिले छ गाडीबाट ओसार्नु पर्ने बड्डाडा बजारको समस्या त हामीले हलपनि गरिसक्यौ पहिलो वर्षमै घर घरमा एक घर एक धारा व्यवस्थापन गरिसकियो। बड्डाडा क्षेत्रमा र आगामी साल २ हजार भन्दा धेरै जनसंख्यालाई हामीले एउटै खानेपानी योजनाबाट खानेपानीको आपूर्ति गर्नेछौ र त्यो लगायत अन्य क्षेत्रहरुमा पनि दानसेङ खानेपानी योजना, झण्डै ५० लाखको, ददेरिको वृहत खानेपानी योजना झण्डै १ करोडको र यी सबै सम्पन्न हुनेछन् । खानेपानीको हिसाबले हामीले हरेक बस्तीमा खानेपानीको एक प्रकारको धेरै हदसम्म शुनिश्चतता भएको अवस्थाहुने छ । विद्यालयहरुको गुणस्तरको अवस्था अहिलेको भन्दा गुणात्मक हिसाबले सुधार भएको हुनेछ । चेतनाको हिसाबले समाजको एउटा चेतनालाई हामीले एकतह सम्म माथि उठाउन सक्ने छौ र गाउपालिकाको नेतृत्वको इमान्दारिताको मापदण्ड खडाहुने छ । जनप्रतिनिधि हुनुको अर्थ सबै मान्छे भ्रष्ट हुँदैनन्, सबै मान्छेहरु घुसखोर हुँदैनन्, सबै मान्छेहरु बेमान हुँदैनन् भन्ने एउटा मानक हामी स्थापित गर्नेछौ ।
अन्यतमा यहाँको केही भन्नु छ कि ?
मिडियाहिसाबले हामी अलि टाढा नै रहेका छौ । यद्यपि हाम्रा कुराहरु कुनै न कुनै ढंगले हाम्रा फेसबुकहरु, वेवसाइट हरुबाट सार्वजनिक हुनेगर्दछन तरपनि एउटा विडम्बनाको कुरा बरु अन्यत्र जिल्लाका मिडियाले हामी संग कुरा गरी हाम्रा कुरा बाहिर ल्याउदछन् तर प्यूठानका रेडियोहरु,पत्रपत्रिका संग हाम्रो भेटघाट हुँदैन । संचारकर्मी मित्रहरु लाई संचार माध्यमहरुबाट पनि सरुमारानी गाउपालीका अलि टाढै रहेको अनुभुति हुन्छ। म संचारकर्मी मित्रहरुलाई के अनुरोध गर्न चाहन्छु भने कहिले काँही तपाईहरु मार्फत जनताका कुरा बाहिर आउनुपर्छ। त्यो तपाईहरुको धर्म कर्तव्यहो भन्ने लाग्दछ। हाम्रो गाउँपालिकाको गतिविधिका विषयमा मेरो कुरालाई आम जनमानसमा ल्याउन सहयोग गर्नु भएकोमा यहँलाई धन्यवाद दिन चाहन्छु ।

आर्थिक प्यूठान मासिकबाट


सम्बन्धित पोस्टहरू

Top