Invalid Conversion Type | Tuesday 20th April 2021

हुलाक बचत बैंकमा आकर्षण बढ्दो ,सुध्रिएन लेखा व्यवस्थापन प्रविधि


Hamroekata ९ फाल्गुन २०७७

प्रकाश वैद्य
प्यठान, सुचना र सञ्चारको दुनियामा प्राविधिक रुपमा सुधार हुँदै गए । छापा पत्रकारिता र डिजिटल पत्रकारिताले निकै फड्को मारिसकेको छ तर ति निकायको जिल्ला स्तरको नियामक निकायको हुलाक बैंक भने परम्परागत प्रणालीवाट बाहिर निस्कन सकेको छैन ।
सरकारी क्षेत्रको आकर्षक रहेको हुलाक बचत बैंक सर्वसाधारणको आकर्षण उस्तै र परम्परागत प्रविधि पनि उस्तै छन् । आकर्षण बढिरहेको वेलामा प्राविधिक कुराहरुको सुधार सहितको लेखा व्यवस्थापन हुनु पर्नेमा पुरानै ढर्रावाट सेवा दिन बाध्य भएको छ ।
जिल्ला हुलाक कार्यालय प्यूठानमा सञ्चालित हुलाक बचत बैंक कार्यक्रममा सर्वसाधारणको आकर्षण बढेको देखिन्छ तर बचत बैंकको लेखा व्यवस्थापन प्रणाली पुरानै पाराको छ ।
कर्मचारीको दरवन्दी रहे पनि पर्याप्त मात्रामा कर्मचारी नरहेको जिल्ला हुलाकमा सामान्य सिमित कर्मचारीवाट जनतन हुलाक बचत बैंक सञ्चालन गरिएको छ भने अहिलेको प्रविधियुक्त जमानामा खातापातामा हिसाव राखेर लेखा राखिएको छ । करोडौ कारोवार रहेको बैंकिङ्ग सेवालाई डिजिटल प्रविधिमा अझै सम्म जोडिएको छैन ।
आकर्षक व्याज दर तथा विश्वसनियताका कारण विभिन्न संघ संस्था तथा सर्वसाधारण जनताले स्वतस्फुर्त रुपमा विभिन्न प्रकारका बचत खाता खोली रकम जम्मा गर्ने गरेको बचत बैंकले वर्तमान समयमा डिजिटल प्रविधिको सेवा पक्रन नसक्दा काम गराई परम्परागत देखिन्छ । करोडौको कारोवार ठुला ठुला पुराना खातामा राखिएको छ भने कर्मचारीहरु पनि पुरानै देखिन्छन् कार्यालयमा । सर्वसाधारणले बचत जम्मा गर्दा लेजरमा हिसाव जोड गर्ने तथा बचत निकाल्दा लेजरमै घटाउने गरिएको छ भने बचत बैंकको कुल हिसाव पनि क्यालकुलेटरको सहायताले निकाल्ने गरिन्छ । नेपालमा २० वर्ष अघि विभिन्न सरकारी बैंकले अपनाएका कार्यशैली जस्तो देखिन्छ हुलाक बचत बैंकको सेवा ।
प्रविधिलाई नपक्रे पनि अहिले विभिन्न बैंक तथा वित्तिय संस्थाले सर्वसाधारणलाई बचत जम्मा गरे वापत दिइने व्याज दर घटाईरहेको सन्दर्भमा हुलाक बचत बैंकको व्याजदरमा आकर्षण देखिन्छ जसले पनि सर्वसाधारणको आकर्षण बढेको छ । बैंकमा हाल सम्म करिव २५०० भन्दा बढि विभिन्न बचत खाताहरु सञ्चालन भएको तथा ७ करोड बढी बचत संकलन भएको जिल्ला हुलाक कार्यालय प्रमुख चन्द्र बहादुर के.सी.ले जानकारी दिए ।बचत बैंकले जेष्ठ नागरिक बचतमा ७ प्रतिशत तथा बाल बचत लगायत अन्य बचतमा ६ प्रतिशत व्याज दर दिएको समेत प्रमुख के.सी.ले बताए ।
७ करोड बढी बचत संकलन भएको बैंकिङ्ग कार्यक्रममा आवश्यक उपकरणहरु तथा दक्ष जनशक्तिहरु पनि व्यवस्था गरिएको छैन । कार्यालयमा समायोजन पछी कर्मचारीहरु संघ तथा प्रदेशमा गएको र हाल दरवन्दी भए पनि कर्मचारी उपलव्ध नहुँदा कार्यालयको कामकाजमा समस्या भएको कार्यालय प्रमुख के.सी. ले बताए । बचत बैंक कार्यक्रममा काम गर्न लेखा सम्वन्धी अनुभवी कर्मचारीको अभाव , लेखा सफ्टवेयरको व्यवस्था नहुनु, नोट गन्ने मेशिन जस्ता उपकरणको उपलव्धता नहुनुले पनि काममा समस्या भएको प्रमुख केसीको भनाई छ ।
विभिन्न संघ संस्था ,कार्यालय ,सर्वसाधारणको आकर्षण बढेको हुलाक बचत बैंकको सेवालाई समय सापेक्ष डिजिटलाइजेशन गर्न जरुरी छ यसका लागि सम्वन्धित निकायको वेलैमा ध्यान जान जरुरी छ ।


सम्बन्धित पोस्टहरू

Top