Invalid Conversion Type | Wednesday 21st October 2020

स्थानीय तहले जनताको भोको पेटको सम्वोधन गर्न सक्नुपर्दछ ।


Hamroekata ३० चैत्र २०७६

मुलुक अहिले विश्वव्यापी रुपमा देखिएको कोरोना विरुद्धको लडाईमा उभिएको छ । प्यूठान जिल्ला पनि कोरोनाको यो लडाईमा दृढतापूर्वक लागि परेको छ । लकडाउनले गर्दा घरमै बसेका जिल्लाका गाउँ गाउँका जनताहरु यो वेला कोरोनाको त्रास खेपिरहेका छन् । जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिहरुको सहानुभुति तथा सहयोगको खाँचो यो वेला जनतालाई छ । यसै सन्दर्भमा कोरोनाको यो संकट खेपिरहेका प्यूठानी जनतालाई आवश्यक सहयोग तथा जनताको जीवन रक्षाको लागि यहाँको भुमिका कस्तो रहेको छ भनि हामीले प्यूठान जिल्लावाट निर्वाचित प्रदेश सांसद कृष्णध्वज खड्का संग कुराकानी गरेका थियौ प्रस्तुत छ हाम्रो एकता सहकर्मी प्रकाश बैद्यले सांसद कृष्ण ध्वज खड्का संग गर्नु भएको कुराकानीको संपादित अंश
लामो समय लकडाउन भएको छ यहाँको दिनचर्या कसरी वितेको छ ?
लकडाउनको यो समयमा मेरो दिनचर्याको सन्दर्भमा भन्नु पर्दा अरु बेला जस्तै विहान उठ्ने समाचार सुन्ने ,हेर्ने,सामान्य व्यायाम गर्ने तथा विभिन्न कामहरुको फोनको माध्यमवाट सम्पर्क गर्ने र दिउसोको समयमा पनि प्यूठान जिल्लाका जनप्रतिनिधि ,प्रशासन ,स्वास्थ्यकर्मीहरुका साथै देश विदेशमा रहनु भएका साथीहरु संग जहाँ अहिले ठुलो मात्रामा संक्रमण फैलिएको छ त्यहाँ सम्पर्क गरेर वितेको छ । मुख्य रुपमा जिल्लाका विभिन्न विषयहरुमा जिल्लाका साथीहरु संग सम्पर्कमा ,छलफल तथा समस्या समाधान गर्ने उपाएका वारे समन्वय गरेर वितेको छ ।
 कार्यक्रममै व्यस्त रहने तपाईहरु पहिले भन्दा यो बेला अप्ठेरो महशुस भएको छैन ?
सामान्यतया यो अप्ठेरो बेला वाँधिएर साँघुरिएर बस्दा सवै देश नै विकास निर्माण जनताका व्यापार व्यवसाय सवै अवरुद्ध भईरहेको वेलामा यसलाई सहज भएको छ भन्ने त होइन तर यो अप्ठेरो वेलामा कसरी यो कोरोनाको विरुद्ध लड्ने लडाइमा आफ्नो भुमिका निर्वाह गर्ने भन्ने हो । अरु काम भन्दा पनि अहिलेको मुख्य काम कोरोनाको विरुद्ध हो तसर्थ यी कुराहरु घरमा बसेरै गर्दा असहज हुनु स्वभाविक नै हो ।
 कोरोनाको त्रास खेपिरहेका आम प्यूठानी जनतालाई कस्तो सहानुभुति दिनु हुन्छ ?
अहिले सन्सार नै कोरोनाको विरुद्धमा लडाई लडिरहेको छ यो मानव सभ्यताको मानव जातीले नै व्यहोरेको एकदमै नयाँ समस्या हो । हाम्रो देशको जस्तो पिछडिएको जुन साधन ,श्रोत सवैको अभाव भएको ठाउँमा हाम्रो निम्ती यो एकदमै ठुलो चुनौति नै हो । हामी प्यूठानीहरु ,नेपालीहरु मात्र यसको विरुद्धमा लडिरहेका छैनौ संसारका सवै बैज्ञानिकहरु ,चिकित्सकहरु,सुरक्षाफौजहरु लगाएत सिङ्गो संसार नै लडिरहेका छ त्यसैले यो लडाइमा हामी एउटा हिस्सा मात्रै हो । यो अवस्थामा हामी हतासी हाल्ने होइन की यो युगमा हाम्रा अगाडि आएका जिम्मेवारीहरु के हुन् भन्ने कुरालाई मनन् गर्ने हो । जसका लागि सरकारले जारी गरेका निर्देशनहरु , स्वास्थ्यकर्मीहरुले जारी गरेका निर्देशनहरु अनुशासित पूर्वक ,संयमतापूर्वक ,धैर्यतापूर्वक पालना गर्दै आफु पनि सुरक्षित रहदै अरुलाई पनि सहयोग गरेर जाने वेला हो । यतिवेला हामी प्यूठानीहरु लगाएत संसार भर सवैलाई यो लडाईका विरुद्ध लड्नका लागि साधन श्रोतहरुको अभाव छ । हामीलाई पनि कुनै अनुभव थिएन स्वास्थ्यकर्मीहरुलाई आवश्यक साधनहरुको कमि ,हाम्रा अस्पतालहरु त्यो स्तरका छैनन् फेरी पनि अहिले क्रमिक रुपवाट हाम्रा स्थानीय तहहरुले , प्रदेश सरकारले ,केन्द्र सरकारले क्रमिक रुपवाट आधारभुत कुराहरुलाई जोहो गर्ने प्रयत्नहरु गर्दै गईरहेका छन् । लकडाउनको विचमा आएका समस्याहरुलाई पनि सरकारले तीन वटै तहमा कोरोना संकट व्यवस्थापन समितिको गठन गरेर त्यो मार्फत राहतहरु उपलव्ध गराउने गरी कोहि पनि भोकै मर्न नपरोस भनेर राहत वितरण गर्न त्यो प्रकारको व्यवस्था सरकारले गरेको छ साथै त्यस्ता खालका संयन्त्रहरु निर्माण गरेको छ । हामी पहिलो होइन र विचको पनि होइन र हाम्रा प्रयत्न संक्रमणको अन्तिम पनि हुन नपरोस भन्ने हो । अहिले सम्म १२ जना भन्दा बढिमा कोरोना संक्रमण देखिएको छैन जुन पनि हाम्रो देश भन्दा बाहिरवाट आएका मानिसहरुमा मात्र देखिएको छ । त्यसैले वाहिरवाट आउनु भएका व्यक्तिहरु यदि अनुसासन पालना गरिदिनु भो , क्वारेन्टाइनमा वसिदिनु भो भने हामी आत्ति हाल्नु पर्ने डराई हाल्नु पर्ने जस्तो लाग्दैन र यो रोग भनेको मान्छेवाट मान्छेमा मात्र सर्ने र संक्रमित मान्छेले छोएको वस्तुवाट मात्र सर्ने हो हावावाट सर्ने होइन त्यसैले पनि सामाजिक दुरी कायम राखेर दिन चर्या गरेर पनि हामीले आफ्नो घर भित्र समय विताउन सक्ने हुनाले यसलाई भयावहको रुपमा ,महामारीको रुपमा आइहाल्छ की भन्ने ढंगले आत्तिनु पर्दछ जस्तो लाग्दैन सतर्कता र संयमतामा ध्यान दिनु जरुरी छ ।
कोरोनाको यो संकटमा प्यूठानी जनताको रक्षाका लागि यहाँको भुमिका कस्तो रह्यो ? कोरोना नियन्त्रण तथा रोकथाम र जनताको सुरक्षाका लागि यहाँका के कस्ता योजना छन् ?
यस सम्वन्धमा भन्नु पर्दा मुख्य त हाँमी निर्वाचित जनप्रतिनिधि हो सरकारले यसका विरुद्ध कसरी लडेर जाने भन्ने सन्दर्भमा केन्द्रमा नै संकट व्यवस्थापन गर्नका निम्ती (सि.सि.एम.सि)कोरोना संकट व्यवस्थापन समिति गठन गरेको छ । प्रदेशमा मुख्य मन्त्रीको नेतृत्वमा गठन गरेको छ भने स्थानीय तह वडा सम्मको एउटा संरचनानै खडा गरेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले नेपालगञ्ज ,बुटवल र दाङ्गमा कोरोना अस्पताल नै निर्माण गरेको छ । केन्द्रले पनि जिल्ला जिल्लामा कोरोना क्राइशिस म्यानेजमेन्टको व्यवस्था गरेर सरकार गएको छ । यसको निम्ती बजेटको कोश निर्माण गर्नका लागि संघ सरकार ,प्रदेश सरकार र कतिपय स्थानीय तहका सरकारहरुले कोष निर्माण गर्ने बजेट निर्माण गर्ने गरेर गएका छन् ।     जिल्लाको अस्पताल ,स्वास्थ्यकर्मीहरु,सुरक्षा फौजहरु,जनप्रतिनिधिहरु,जिल्ला प्रशासन अग्रभागमा रहेर यसको विरुद्धमा लडिरहनुभएको छ । प्यूठान जिल्लामा सुरुवाट नै प्रभावकारी ढंगले वहाँहरुले जसरी मेहनतका साथ लागि रहनुभएको छ म सवै स्वास्थ्यकर्मी,सुरक्षा फौज,स्थानीय प्रशासन,जनप्रतिनिधि ,सामाजिक संघ संस्था सवैलाई धन्यवाद दिन चाहन्छु । यी सवै संग सम्पर्कमा रहने र समन्वयकारी भुमिकामा रहि भएका समस्यालाई हल निकाल्नका निम्ती प्रदेश सरकार ,संघ सरकार र सम्वन्धित निकायहरु समक्ष ती समस्याहरु पूर्याउने र समस्या समाधान गर्न प्रयत्न गर्ने नै हाम्रो भुमिका हो जस्तो लाग्दछ । त्यसको निम्ती म व्यक्तिगत रुपमा स्थानीय तहहरु संग ,प्रशासन संग ,सुरक्षा फौज, संघ संस्था ,स्वास्थ्यकर्मीहरु संग म सम्पर्कमा नै छु ,वहाँहरु संग सरसल्लाहमै छु र आएका समस्याहरुलाई समाधान गर्नका निम्ती सहजिकरण गर्ने प्रयत्न पनि गरिरहेको छु । सुरुमा लकडाउन हुनु भन्दा अगाडि नै भारतवाट आउनेहरुवाट अलि बढि जोखिम भएका कारण बाङ्गेशालमा हेल्प डेस्क राख्ने ,कोष खडा गर्ने ,क्वारेन्टाइनहरु निर्माण गर्ने ,स्थानीय तहका स्वास्य संस्थाहरुमा यसका विरुद्ध लड्ने सामाग्रीहरु सेनिटाइजर ,मास्क,पि.पि.इ लगाएत सवै सामाग्रीहरुको अभाव रहेको ठाउँमा ती सामाग्रीहरुको कसरी जोहो गर्न सकिन्छ भनेर सम्वन्धित पक्ष संग सल्लाह गर्ने समन्वय गर्ने तथा देश व्यापी रुपमै ती सामानहरुको अभाव रहेको सन्दर्भमा म वहाँहरु संग कहाँ के गर्न सकिन्छ भनेर सरसल्लाहमै छु समन्वयमै छु । जस अनुसार पहिलेको भन्दा अहिले अलि अगाडि हामी बढेका छौ अव भोलीका दिनमा पनि यो लकडाउन बढाउदै जाने निश्चित छ यसले गर्दा हाम्रा समस्याहरु चुनौतिहरु खास गरी निम्न तहका जनताका समस्याहरु अझ बढेर जाने देखिन्छ जसमा एउटा भोको पेट र एउटा मनको समस्या छ । हामीले भोको पेटलाई हेर्नु पर्दछ र भोका मनलाई हामीले सम्झाउने बुझाउने गर्नु पर्दछ । त्यसैले मुख्य कुरा अव आउने समस्या कसरी समाधान गर्ने भन्ने कुरा हामीले जनतालाई बुझाउनु पर्दछ । सामाजिक दुरीलाई कायम गर्दे पारिवारिक रुपमा हाम्रा वाउ वाजेले आर्जन गरेका जुन ज्ञानहरु छन् त्यसलाई प्रयोग गर्दै आत्मनिर्भर बन्ने प्रयत्नमा सोच्नु पर्दछ र भोली संक्रमण फैलिदा खेरीमा सरकारको जिल्ला प्रति ध्यानाकर्षण हामीले गराउदै गएका छौ र अरु पनि ध्यानाकर्षण गराउने प्रयत्न गर्दछौ ।
अहिले जिल्लाका जनताहरु मुख्य ३ विषयमा बढि त्रसित छन् , एउटा कोरोनाको त्रासले अन्य रोगको पनि उपचार प्रभावकारी हुन्न की भन्ने, अर्को भोकमरीले त्यसै मरिन्छ की भन्ने र भारतवाट आएकाको उचित क्वारेन्टाइन व्यवस्थापन नहुदा कोरोनाले सखाप पार्दछकी भन्ने , यी त्रसित भएका जनता आवश्वस्त हुने आधारहरु के के छन् ?
पहिलो कुरा त उपचार गर्ने नै हो । उपचार गर्नका लागि स्वास्थ्यकर्मीहरु जसलाई स्वास्थ्य फौज भन्दा नै हुन्छ । स्वास्थ्य फौजले सुरक्षित साथ जनताको सेवा गर्ने बनाउनको लागि वहाँहरुलाई आधारभुत साधनको व्यवस्था गर्नु पर्दछ । त्यस्तै लकडाउनले जनतामा भोको पेटको समस्या देखा परेको छ जसलाई स्थानीय तहहरुले न्यूनतम रुपमा सम्वोधन गर्ने प्रयत्न गरीरहनु भएको छ । वजेटको सिमितता भएकाले वहाँहरुले आवश्यक बजेटको माग गरेर प्रदेश सरकारमा पठाउनु भयो भने प्रदेश सरकारले ,संघ सरकारले पनि त्यसका लागि कोष खडा गरेको छ त्यसैले पनि स्थानीय जनसमुदायले केहि पाइदैन की भन्न पर्दैन र स्थानीय तहहरुले विभिन्न संघ संस्था ,व्यक्तिवाट पनि सहयोग जुटाउने प्रयत्गन गरीरहनु भएको छ जसले गर्दा पनि भोकै पेट मर्ने स्थिति रहदैन । खाद्यान्न ,ग्यास ,औषधि लगाएतका दैनिक उपभोग्य बस्तु आपुर्तिका लागि लकडाउन छैन । दैनिक उपभोग्य सामान जिल्लामा अभाव हुदा आपुर्र्ति हुन्छ । सरकारले ठुला प्रोजेक्ट र निश्चित ठाउँमा काम गर्न ढोका खोली सकेको छ । सुरुमा रोगको अनुभव नहुदा सवैमा अप्ठेरो भएको हो अहिले आधारभुत आवश्यक्ता जस्तै एन नाइनटि फाइप  मास्क , पि.पि.इ जस्ता सामाग्री स्थानीय तहहरुले जुटाउनु भएको छ । जिल्लामा जाँच हुन पुगेको छ । स्वास्थ्यकर्मीको पनि हिजोको स्थितिमा नरहेकाले त्यो स्थिति रहदैन । वहाँहरुको सुरक्षाको निम्ती सरकारले परिवारलाई राहत, भत्ता, सुविधा ,विमा ,सुरक्षा सामाग्री लगाएतको व्यवस्था गरेको छ सरकारले जिम्मा लिएको छ त्यसैले पनि अव विरामीको उपचारमा पहिलाको जस्तो स्थिति रहदैन । भारतवाट आएकाहरुको तथा व्यवस्थित क्वारेन्टाइन नभएकाले जनता त्रसितको सन्दर्भमा भन्नु पर्दा क्वारेन्टाइनमा पनि सुरुमा अनुभव थिएन अव क्रमिक रुपमा साधन जुटाउने काम स्थानीय तहहरुले गरेका छन् । भोली लकडाउन खुल्दा पनि भारतवाट ओइरिएर ह्वारह्वार्ति मान्छे आउने स्थिति रहदैन जसका लागि निश्चित नियम ,मापदण्ड पुरा गरी मात्र आवतजावत हुन्छ । सुरुको वेला जस्तो भद्रगोल स्थिति अव रहदैन त्यसैले धेरै त्रसित हुनु पर्दैन ।

स्थानीय तहहरुवाट वितरण भएका राहतमा राजनीतिकिकरण भयो भन्ने गुनासो छ नी ?
सरकारले स्थानीय तहहरु मार्फत नै एकद्धार प्रणाली मार्फत वडाध्यक्ष सम्मको संरचना खडा गरेर राहत वितरण गर्दैछ । निर्वाचित जनप्रतिनिधिहरुलाई नै हामीले भरोसा र विश्वास गर्ने हो । सवै हामी आग्रह पूर्वाग्रह र स्वार्थ भन्दा माथी उठेर नै जनताको सेवा गर्ने हो यो सवैले गर्नु भएको छ भन्ने लाग्दछ । मलाई के लाग्दछ भने केहि कुरामा अपुग भएको छ वा कतै ध्यान पुगेको छैन भने सम्वन्धित तहको हामीले ध्यानाकर्षण गराउनुपर्दछ त्यो हामी सवैको जिम्मेवारी हो । प्यूठान जिल्लामा मैले सुरुमै वडा स्तरमा सर्वदलिय संयन्त्र बनाउ र कुन कुन के हो भन्ने सर्वदलिय संयन्त्र भित्र छलफल गरेर काम अघि बढाएमा यो व्यवस्थित हुन्छ भन्ने सुझाव राखेको थिएँ। यतिवेलाको समस्या वाढिपहिराको जस्तो होइन ,भुकम्पको जस्तो होइन कहिले सम्म समस्या रहने हो थाहा छैन तसर्थ दिगो ढंगको सोँच राखेर काम गर्नुपर्दछ र सर्वदलिय संयन्त्र मार्फत जाँदा उपयुक्त हुन्छ भनको हो र अहिले विभिन्न पालिकाहरु संग समन्वय गर्दा हामीले त्यसै अनुसार गरेका छौ भनेर पनि वहाँहरुले भन्नु भएको छ । केहि ठाउँमा यहाँले भने जस्तो दृष्टि नपुगेको ,छुटेको स्थिति छ भने पनि हामीले सकारात्मक ढंगले ध्यानाकर्षण गरेर हल गर्न सकिन्छ । भोको पेट र भोको मन फरक कुरा हो त्यसैले भोको पेट र भोको मनको हामीले निष्पक्ष ढंगले पहिचान गर्नु पर्दछ स्थानीय तहहरु त्यसो गर्दछन् भन्ने मलाई विश्वास छ ।
कोरोनाको यो संकटमा प्रदेश तथा केन्द्र सरकारवाट स्थानीय तहलाई कामको परिपत्र मात्र हुने तर स्वास्थ्य सामाग्री उपलव्धतामा भने ध्यान गएको पाइदैनन नी ?
यस सम्वन्धमा हामी संघ र प्रदेश संग निरन्तर सम्पर्कमा छौ । वास्तवमा प्रदेश सरकारले भएर चाहेर नदिउँ भनेर नगरेको होइन । सुरुमा सरकारको अभाव देखियो ,जसरी तयारी हुनु पर्ने हो त्यो स्थिति रहेन यसले गर्दा संघ सरकार ,प्रदेश सरकारमा र वाहिर बजारमा पनि सामाग्री नभएर यस्तो समस्या भएको हो । नभएका सामाग्रीहरुलाई अहिले प्रदेशले ,केन्द्रले उत्पादन गरेर वितरण गर्दा पनि अहिले सहज हुन थालेको छ । कतिपय कालोवजारी नियन्त्रण तथा लाखौ माक्स सरकारले जफत पनि गरिरहेको छ । जिल्ला स्वास्थ्य ,स्थानीय तहसंग समन्वय गरेर ती निकायवाट आधिकारिक रुपमा माग गर्ने र हामीले प्रदेश स्तरका मन्त्रीस्तर तथा केन्द्रमा पनि पहल गर्ने ,समन्वय गर्ने कार्य गरेका छौ जसले गर्दा अव जिल्लामा समस्या आइहाले पछि सरकारले केहि गर्नै नसक्ने भन्ने स्थितिमा छैन र भोलीका दिनहरुमा प्रदेशवाट जिल्लामा नपुगेका कुराहरु क्रमिक रुपमा पुग्दै जान्छ भन्ने लाग्दछ ।
 अन्तमा आम प्यूठानी जनतालाई के भन्न चाहनुहुन्छ ?
संसारभरीको सिकाई हेर्दा यो लकडाउन नै कोरोना रोकथामको प्रभावकारी उपचार देखियो त्यसैले म प्यूठान वासी दाजुभाई दिदीवहिनीहरुलाई हाम्रो यो वाध्यता हो भन्ने सम्झेर यसलाई पूर्ण रुपमा पालना गर्दै गाउँघरमा एक अर्का प्रति सहयोग आदान प्रदान ऐचौ पैचो गरेर ,एकताबद्ध भएर यसको विरुद्धमा लड्न आग्रह गर्दछु । उच्च मनोवलका साथमा अघि बढि कोरोना विरुद्धको यो लडाई जित्न एकताबद्ध भएर लाग्न सवैमा अनुरोध गर्दै नव वर्ष २०७७ सालको सम्पूर्ण जिल्लावासी दाजुभाई दिदीवहिनीहरुमा हार्दिक शुभकामना समेत व्यक्त गर्न चाहन्छु ।


सम्बन्धित पोस्टहरू

Top