Invalid Conversion Type | Wednesday 21st October 2020

विपदको वेला जनतालाई पाल्ने काम सरकारको हो ।


Hamroekata ४ बैशाख २०७७

मुलुक अहिले विश्वव्यापी रुपमा देखिएको कोरोना विरुद्धको लडाईमा उभिएको छ । प्यूठान जिल्ला पनि कोरोनाको यो लडाईमा दृढतापूर्वक लागि परेको छ । लकडाउनले गर्दा घरमै बसेका जिल्लाका गाउँ गाउँका जनताहरु यो वेला कोरोनाको त्रास खेपिरहेका छन् । जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिहरुको सहानुभुति तथा सहयोगको खाँचो यो वेला जनतालाई छ । यसै सन्दर्भमा कोरोनाको यो संकट खेपिरहेका प्यूठानी जनतालाई आवश्यक सहयोग तथा जनताको जीवन रक्षाको लागि यहाँको भुमिका कस्तो रहेको छ भनि हामीले प्यूठान जिल्लावाट निर्वाचित प्रदेश सांसद हरि प्रसाद रिजाल संग कुराकानी गरेका थियौ प्रस्तुत छ हाम्रो एकता सहकर्मी प्रकाश बैद्यले प्रदेश सांसद हरि प्रसाद रिजाल संग गर्नु भएको कुराकानीको संपादित अंश ः

लामो समय लकडाउन भएको छ यहाँको दिन चर्या कसरी वितेको छ ?
अहिले कोरोनाको महामारीले विश्वका सवै जनताहरु त्रसित,आतंकित र सशंकित छन् विकसित देशहरुमा नै यसको प्रकोपले जनता ग्रसित छन् भने धेरैले ज्यान गुमाएका छन् यो अवस्थामा हामी विकासोन्मुख मुलुक नेपालमा बस्ने जनता हौ । हामीमा प्रकोपले भयानक स्थिति लिन सक्ने सम्भावना देखेर नेपाल सरकारले जुन लकडाउनको नीति लियो र अहिले लकडाउन गरिएको छ यो नितान्त सकारात्मक र हाम्रो जस्तो मुलुकको लागि सवै भन्दा राम्रो काम जनताले महशुस गरेको मैले महसुश गरेको छु । यो परिवेशमा हामी पनि त्यहि बन्दावन्दिकै अवस्थामा छौ । सार्वजनिक मान्छे भएको नाताले हिजोको अवस्थामा जनता सम्म जाने संगै बस्ने सचेत गराउने परिवेश थियो भने अहिले एउटै घर परिवारमा पनि हामी संगै एउटै चेयरमा वस्न नसक्ने ,एउटै पलङ्गमा सुत्न नसक्ने अवस्थामा छौ । कमसेकम डेढ दुई मिटर फरकमा बस्ने,बोल्दा पनि सुस्त बोल्ने,माक्स लगाएर बस्ने,हाछ्यू गर्दा पनि कपडाले छोपेर हाछ्यु गर्ने परिवेश छ र म पनि सोहि ढंगले घरमै बसेको अवस्था हो । यद्यपि म चैत्र १८ गते सम्म बुटवलमै थिए र यहाँ प्यूठान आईसके पछि म घरमै बसेको छु र घरमा वसेर समग्रतामा स्थानीय जनप्रतिनिधिहरु,राजनीतिक दलका कार्यकर्ताहरु, स्थानीय प्रशासनहरु ,पालिकाका कार्यकारी अधिकारीहरु संग टेलिफोनवाट सम्पर्क गर्ने कार्य भएको छ र जिल्लामा के कति कार्य भएका छन् भन्ने वारे जानकारी लिने तथा दिने कार्यहरु गर्दै मैले अहिले मेरो वर्तमान समय व्यतित गरेको छु ।
कोरोनाको यो संकटमा प्यूठानी जनताको रक्षाका लागि यहाँको भुमिका कस्तो रह्यो ? कोरोना नियन्त्रण तथा रोकथाम र जनताको सुरक्षाका लागि यहाँका के कस्ता योजना छन् ?
स्वभाविक रुपमा जनसचेतता गराउने कुरामा हामी लागेका छौ । नेपाल सरकारले , विश्व स्वास्थ्य संगठनले जुन नीति बनाएको छ उक्त नीति मुताविक नै रहेर आम जनताहरुले यो रोगको प्रकोपवाट बाँच्ने र बँचाउने उपाय सोँच्नु पर्दछ । रोगको औषधि पत्ता नलागेको यो परिवेशमा सवै भन्दा राम्रो पक्ष भनेकै बन्दा बन्दीमा बस्ने , आफ्नो शरिरको सरसफाइमा ध्यान दिने ,आफुलाई लाग्ने रोगहरुको निम्ति सजग रहने , अरुलाई भन्ने भनाउने , वाहिर देशवाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा बस्नको निम्ती उत्प्रेरित गर्ने कार्य गर्नु पर्दछ । भारत तथा अन्य देशवाट आउनेहरु घरमा आउनु भएको छ वहाँहरु घरमा परिवार संग बस्न चाहनु हुन्छ वहाँहरुलाई क्वारेन्टाइनमा बस्न उत्प्रेरित गर्ने जस्ता गतिविधिहरुमा टेलिफोन मार्फत भएको छ भने केन्द्र सरकार ,प्रदेश सरकारहरु संग पनि प्रत्यक्ष टेलिफोन सम्पर्क गरेर प्यूठान जिल्लाको सन्दर्भमा गर्नुुपर्ने कार्यको पहल कदमीहरु भएको छ । प्यूठान जिल्लामा पि.पि.ए नितान्त कम छ जसले गर्दा चिकित्सकहरु विरामी संग जान नसक्ने अवस्था छ , ज्वरो नाप्ने मेशिन कम छ यी कुराहरुमा हामीले विशेष ध्यान दिएका छौ । मैले हाम्रो प्रदेशको मुख्यमन्त्री संगै फोन गरेर प्यूठान जिल्लाको सन्दर्भमा क्वारेन्टाइनमा यति जना मान्छे वस्नु भएको छ ्यापिड टेष्टमा ध्यान दिनु पर्यो भनेको थिएँ सो विषयलाई मुख्यमन्त्री र प्रदेश सरकारले महशुस गर्यो र वहाँहरुले प्यूठानलाई पहिलो चक्रमा नै ्यापिड टेष्टका लागि उपकरणहरु पठाउनु भयो जस अनुसार टेष्ट गर्ने कार्य सुरुवात भएको छ । फेरि पनि प्यूठानमा पि.पि.ए १० थानले मात्र पुग्दैन प्रत्येक स्वास्थ्य संस्थामा चेकजाँच गर्ने स्वास्थ्यकर्मीहरुलाई चाहिन्छ भनेर हामीले गएको हप्ता मुख्य मन्त्रीकहा बैठक बस्दा जाहेर गराएका छौ । प्यूठान अस्पतालाई उपकरणयुक्त गराउने योजना अनुरुप अस्पतालमा कम्तिमा १० वटा भेन्टिलेटर चाहिन्छ भन्ने कुरा यहाँ उठिरहेको थियो मैले प्यूठान अस्पताल प्यूठान जिल्लाको मात्र नभएर रोल्पा ,अर्घाखाँची ,गुल्मी समेतका विरामी आउने जिल्लाको कमन अस्पताल हो यहाँ १० वटा भेन्टिलेटर चाहिन्छ भनेर मैले प्रदेश सरकार प्रमुख मुख्यमन्त्री समक्ष गरेको छु । प्यूठानमा अहिले माक्स पनि छैन माक्स पनि उपलव्ध हुनु पर्यो भन्ने जस्ता कुरा पनि यहाँ भईरहेकाले यी समस्या पनि मैले राखेको छु र प्रदेश सरकार प्रमुखवाट केहि राम्रा आश्वासन पनि मैले पाएको छु । १० वटा भेन्टिलेटर त जिल्लामा म्यानपावर नपुग्ला तर केहि गराउने कुरामा म पहल गर्दछु भन्ने कुरामा मुख्यमन्त्रीले आश्वासन दिनुभएको छ । अन्य जिल्लाका लागि उपकरणका सन्दर्भमा पनि हाम्रा यहाँ ८७ वटा स्वास्थ्य संस्थाहरु छन् ती स्वास्थ्य संस्थामा बस्ने स्वास्थ्यकर्मीहरुलाई ढुक्क भएर सेवा गर्न आफ्नो मनोवल बलियो गराउनका लागि पि.पि.ए चाहिन्छ त्यसैले कम्तीमा चार सय पि.पि.ए प्यूठानका लागि चाहिन्छ भनेर मैले कुरा राखेको छु । केन्द्र सरकारको स्वास्थ्यमन्त्री समक्ष पनि मैले यो कुरा बन्दावन्दि सुरुवात हुनु भन्दा पहिलै राखेको थिएँ वहाँले पनि हामीले ल्याउन पठाएका छौ र आए पछि प्रदेश सरकारलाई पठाउँछौ त्यस पछि प्रदेश सरकार मार्फत स्थानीय तह सवै ठाउँमा आउँछ भन्ने कुरा आश्वस्त गराउनु भएको थियो हामीले यसरी पहल तथा समन्वय गरेका छौ । सवै भन्दा यो रोगको लागि मनोवल उच्च गराउन जरुरी रहेछ । आफ्नो मनोवल बढाएर मलाई केहि गर्दैन भनेर उच्च मनका साथ सतर्कता अपनाउदै गयो भने त्यसलाई यो रोगले च्याप्दो रहेनछ । हामी नेपालीको बाहिरकै औषधि चाहिन्छ भन्ने मानसिकता छ । हामी नेपालीलाई त रुघा लागिरहन्छ ,बर्षा याममा रुघा लाग्ने गर्दथ्यो हामी तातो पानी तताएर हलेदो बेषार राखेर ,ज्वानो राखेर असुराको पत्ति हालेर विविध तरिकाले हामी पानी खाने गर्दछौ यो पनि हाम्रो एउटा घरेलु उपचार हुन सक्दछ । लहरेगुर्जोको सुप बनाएर हामी खान सक्दछौ । जव मानिसको शरिमा इम्युनिटी पावर बढ्यो त्यो रोगले आक्रमण गर्दोरहेनछ त्यसैले हाम्रो पहिले देखिको जुन संस्कृति छ सरसफाई गर्दै आएको ,खानपान ,हातधुदै आएको परम्परा जुन छ यो राम्रो रहेछ यसलाई नियमितता दिनु पर्दछ आफ्नो अग्रानिक चिज बस्तु खानु पर्दछ भन्ने कुरा म आम यो तपाईको अनलाइन मार्फत सवै जनतालाई भन्न चाहन्छु र म संग भेट हुने सवै मानिस देखि लिएर सवैलाई मैले अनुरोध गरेको छु । भोलिका दिनमा पनि म यी यावत कार्यमा लागि पर्नेछु । यो महामारीको बेला खाद्य अभाव छ खाद्य अभावलाई पनि हामीले परिपुर्ति गर्नुपर्दछ । त्यस्तै राहतका कुरा गर्दा पनि अलि बैज्ञानिक ढंगले परिपुर्ति गर्नु पर्दछ भन्ने कुरामा म सचेतताका साथ पालिकाका प्रमुख ,उपप्रमुखज्यूहरुलाई ,कर्मचारी साथीहरु सवैलाई भेटहुदा खेरी ,फोनमा सम्पर्क गर्दा पनि यी कुराहरु भन्ने र उत्प्रेरित गर्ने कुराहरु मैले गरेको छु ।

अहिले  जिल्लाका जनताहरु मुख्य ३ विषयमा बढि त्रसित छन् , एउटा कोरोनाको त्रासले अन्य रोगको पनि उपचार प्रभावकारी हुन्न की भन्ने, अर्को भोकमरीले त्यसै मरिन्छ की भन्ने र भारतवाट आएकाको उचित क्वारेन्टाइन व्यवस्थापन नहुँदा कोरोनाले सखाप पार्दछ की भन्ने , यी त्रसित भएका जनता आवश्वस्त हुने आधारहरु के के छन् ?

सवै भन्दा पहिले हामीले जुन क्वारेन्टाइन निर्माण गरेका छौ आम नागरिकलाई म के भन्न चाहन्छु भने त्यस्तो व्यक्ति जो वाहिरवाट आउनुभएको छ वा वहाँलाई संक्रमित भएको आशंका छ भने त्यस्तो व्यक्तिलाई कहि कसैले पनि थाहापाउनु भयो भने या आफ्नो भाई हुन सक्नुहुन्छ या श्रीमान हुन सक्नुहुन्छ त्यस्तो छ भने त्यो परिवार क्वारेन्टाइनमा आएर वसिदिएर ,स्थानीय प्रशासन,पालिका ,स्वास्थ्यकर्मीहरुलाई थाहा दिएर क्वारेन्टाइनमा आएर बस्नको निम्ती म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । कि न की हामी क्वारेन्टाइनमा आएर बस्यौ भने हामीले १४ दिन पछि जाँच गराएर स्पष्ठ भएर जानको निम्ती म विनम्र अनुरोध गर्न चाहन्छु पहिलो र दोस्रो कुरा जुन ढंगले भारतवाट आउने विदेशवाट आउनेहरुमा पनि म नआइदिनका निम्ती म वहाँहरुलार्ई विनम्र अनुरोध गर्न चाहन्छु । जहाँ बस्नु भएको छ त्यहि बस्नुस ,त्यहि क्वारेन्टाइनमा बस्नुस ,त्यहिको स्थानीय सरकार संग सम्पर्क गर्नुस त्यहिको स्थानीय प्रशासन संग सम्पर्क गर्नुस तपाईलाई त्यहिवाट चाहिने औषधि उपचार तथा सवै व्यवस्था उपलव्ध हुन्छ अर्को तर्फ विदेशवाट आउने त अहिले जहाज बन्द छ भारतवाट आउनेहरुका लागि म के भन्न चाहन्छु भने तपाईहरुलाई भारत सरकार र नेपाल सरकारका प्रधानमन्त्रीका वीचमा सहमति भएको छ की भारतका नागरिक हुनुहुन्छ भने नेपालकै क्वारेन्टाइनमा बस्ने र नेपालका नागरिक हुनुहुन्छ भने भारतमै वस्ने र वहाँहरुलाई खान वस्न तथा औषधि उपचारको व्यवस्था क्वारेन्टाइनमा त्यहि नै गर्ने भन्ने भएकाले तपाईहरु आत्तिनु पर्दैन लकडाउन सधै हुने होइन अलिकति रोग नियन्त्रण हुने वित्तिकै हाम्रा लकडाउनहरु खुलिन्छन् त्यसैले सवै भन्दा धैर्यता दिनका लागि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । अर्को कुरा जुन खाद्य अभाव हुन सक्छ भोली भन्ने कुरा छ यस विषयमा मैले अस्ती मात्र प्रदेश सरकार प्रमुख संग बुझेको थिएँ वहाँले भन्नु भए अनुसार कम्तिमा पनि ६ महिनालाई खान पुग्ने स्टक खाद्यबस्तु हाम्रो प्रदेशमा छ त्यसैले हामी खान नपाएर मर्दैनौ जनतालाई ढुक्क हुन म अनुरोध गर्दछु अर्को खानको निम्ती पनि अहिले जुन अहिले विपन्नलाई दिने राहातका छन् यहाँ तथ्यांक अलिकति गलत आएको छ भन्ने सुनिन्छ यसका निम्ती म पनि एउटा राजनीतिक कार्यकर्ता भएको नाताले विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने चाहे मैले प्रतिनिधित्व गर्ने राजनीतिक दल होस या अरु मित्र हाम्रा राजनैतिक दलहरु सवैले कहिले पनि पन्पक्ष नगर्नु होला । राज्यले एउटा नीति बनाएको छ जो मान्छेको छाक अड्किएको छ ,चुलोमा आगो बलेको छैन जो मजदुरी गरेर खाद्यान्न किनेर परिवार पाल्नुहुन्थ्यो त्यस्तो परिवारलाई राहत स्वरुप निश्चित चामल,निश्चित आलु,निश्चित दाल,निश्चित तेल दिने नीति सरकारले बनाएको छ त्यस भित्र रहेर राहत वितरण गर्नु होला । राहत वितरण व्यक्तिलाई एकै ठाउँ जम्मा गरेर वास्तवमा राजनीतिक मान्छेले होइन टोल सुधार समिति मार्फत टोल टोलमा खाद्य वस्तु पुर्याएर जुन आधारभुत वर्गको मान्छे राज्यले तोकेको हुन्छ वहाँहरुलाई राहत दिनु होला । राहत दिने सन्दर्भमा पनि फोटो खिच्ने फेसबुकमा पोष्ट गर्ने ,दाता बन्ने जस्ता प्रबृत्ति देखाउनु हुदैन यो मानव अधिकारको हिसावले पनि राम्रो होइन । अस्पतालको स्वास्थ्य उपचारको सन्दर्भमा भन्नु पर्दा सामान्य अरु रोग पनि इमर्जेन्सि मार्फत जाने भन्ने धारणा बनेको रहेछ जसले गर्दा हामी अरु रोग लागे पनि अस्पतालले औषधि गर्दैन कि भन्ने सोचाई कसैले बनाउनु हुदैन । हामीलाई ज्वरो आउन सक्दछ ,पखाला लाग्न सक्दछ , टाइफाइड लगायत विविध रोग लाग्न सक्दछ त्यसको लागि औषधि मजबुत राख्नको लागि औषधि व्यवस्था विभागले पनि विश्वस्त गराएको छ कच्चा पदार्थ अभाव छैन नआत्तिनुस भनेर विभागले भनेको छ , स्वास्थ्य मन्त्रालयले पनि हामीलाई विश्वस्त बनाएको छ त्यसैले औषधि पाइन्न कि भनेर निराश हुनु पर्दैन र अस्पतालहरुमा जाँदा औषधि उपचार हुन्न कि भनेर नडराउन म जनतालाई अनुरोध गर्दछु कि न कि सामान्यतया जुन ढंगले उपचार भएको थियो सो ढंगले उपचार गर्ने कुरामा हाम्रा चिकित्सकहरु खट्नुभएको छ ती खटेका चिकित्सकहरु,खटेका सुरक्षाकर्मीहरुलाई पनि प्रोत्साहित गर्ने गरी राज्यले व्यस्था गरेको छ । वहाँहरुलाई अतिरिक्त सेवा गरे वापत प्रोत्साहन गर्ने कुराहरु ,सेफ हुने कुराहरु राज्यले नीति बनाएको छ त्यसैले म ती सवै स्वास्थ्यकर्मी र जनता लाई नहिच्किचाइकन सेवा लिन र दिन अनुरोध गर्दछु । अर्को विषय अहिलेको यो भारतवाट नेपाल आउने मानिसहरुको आवत जावतले गर्दाको जुन त्रास छ यसमा देशका ४ वटा प्रदेश बढि सम्वेदनशिल छन् ती हुन् १न.प्रदेश २ न.प्रदेश ५ वन. र ७ न.प्रदेश यी प्रदेशहरु भारत संग सिमाना जोडिएका खुला सिमाना भएका कारण बढि संवेदनशिलता बढेको हो । ५ न. प्रदेश भित्र आई टु आई अर्थात आँखा जुधाउने गरी चेकपोष्टहरु राखिएको छ ,चोरवाटाहरु समेत पहिचान गरेर २०,२५ मिटरको दुरिमा रहेर चेकपोष्ट राखेर उता भारतले एसएसपीको नेतृत्वमा प्रहरी छ यतावाट हाम्रो आर्मी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ र एकजना मान्छे पनि यता आउने उता जाने नगरिकन हुने गरी राज्यले यो व्यवस्था मिलाएको छ त्यसैले भारतवाट आए बर्वादै पारे भन्ने कुरामा चिन्ता नगर्न म अनुरोध गर्न चाहन्छु यदि कुनै लुकिछिपी आइहाले पनि त्यसलाई जानकारी गराउने हाम्रै दर्भानमा पनि चेकपोष्ट छ त्यहाँ मान्छे पहिचान गराउने चेक जाँच गर्ने कार्य भएको छ । प्रशासन राज्यले बनाएको नीति पालना गराउन कटिबद्ध छ म ती खट्ने प्रशासन ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीलाई धन्यवाद दिन चाहन्छु र आम जनतालाई पनि सजगताका साथ क्वारेन्टाइनमा बसेर साथ दिएकोमा धन्यवाद दिन चाहन्छु ।

प्रदेश सरकारले ,केन्द्र सरकारले केहि गरेन भन्ने गुनासो छ नी ?
अहिले भर्खरै सुरुवात भएको परिवेश छ र यो अवस्थामा स्थानीय सरकारलाई नेपाल सरकारले जनतालाई ख्वाउ ,जनतालाई बचाउ भन्ने निर्देशन पहिलो चरणमा जारी गरेको छ त्यसको आधारमा स्थानीय तहले आफु संग रहेको बजेटलाई रकमान्तर गरेर खाद्यवस्तु किनेर उपलव्ध गराएका छन् र गराउनु पर्दछ । यो सक्रमण जोखिमका कारण संकट अवस्था भनेको यो एक महिना दुई महिना मात्र पनि नहुन सक्दछ यो तीन महिना चार महिना ,पाँच महिना ६ महिनै बढ्न पनि सक्दछ त्यतिखेर पनि आम नागरिकलाई पाल्ने दायित्व राज्यको हो । राज्यले कहिल्यै पनि पिठ्यौ फर्काउदैन त्यो दायित्व पुरा गर्न चाहन्छ । स्थानीय सरकार संग बजेट सकियो रकमान्तर गर्ने बजेट भएन अपुग भयो भने जति पैसा चाहिन्छ,जति खाद्य चाहिन्छ त्यो प्रदेश सरकारले व्यहोर्न तयार छ,केन्द्र सरकार पनि व्यहोर्न तयार छ यसको वारेमा मुख्यमन्त्री प्रष्ट बोल्नुभएको छ । त्यसैले हाम्रो चाहना यो संकट छिटो भन्दा छिटो समाधान होस भन्ने हो आम नेपाली र आम जगतको यो चाहना हो तथापी चाहना हुँदाहुदै पनि हाम्रो चाहनाले मात्र हुदोरहेनछ यदि संक्रमण बढेर गयो भने जनतालाई बचाउनको निम्ती हाम्रो राज्य हाम्रो सरकार तयार छ । जनतालाई खानको निम्ती जनतालाई औषधि उपचारको निम्ती सरकार दृढसृकल्पका साथ लागि परेको छ लाग्दछ यसमा कसैले पनि कुनै शंका नगर्नुस ,चिन्ता नगर्नुस म विनम्रतापूर्वक आम जनतालाई अनुरोध गर्न चाहन्छु । अर्को कुरा हाम्रो संकट चाँडै मोचन भयो भने के प्रदेश सकारले सहयोगै नगर्ने हो त ? भन्ने प्रश्न उठ्न सक्दछ यसको सन्दर्भमा प्रदेश सरकार केन्द्र सरकारले एउटा नीति बनाईसकेका छन् त्यो हो यदि अहिले संसारको यो विषय परिस्थितिले के देखाएको छ भने भोली खाद्य संकट आउने सक्ने सम्भावना देखिन्छ जसले गर्दा विश्व नै अहिले खाद्य वस्तु उत्पादनमा लागेको छ जस अनुरुप हाम्रो देश पनि अहिले राहत दिने समयमा पुरै जनतालाई खान दिन बचाउन हामी तयार छौ औषधि उपचार गर्न तयार छौ यो संकट मोचन भएछ भने हाम्रो यो बचेको रकम प्याकेजमा कृषि उत्पादनको प्याकेजमा प्रयोग हुन्छ । गाउँ गाउँमा हाम्रा जग्ग जमिन प्रशस्त मात्रामा छन् ती जग्गा जमिनको हावा पानी आद्रता माटो सवैलाई हेरेर कुन स्थानमा कुन खाद्य बस्तु उत्पादन हुन सक्दछ भन्ने मुल्यांकन गरेर प्याकेज सृजना गरेर खाद्य बस्तु उत्पादनमा लाग्ने तयारी प्रदेश सरकार केन्द्र सरकारले गरेको छ । हामी रकम उत्पादनमा लगाउने छौ तसर्थ हामीले राहत पाएनौ प्रदेश सरकारले दिएन केन्द्र सरकारले दिएन भन्ने कुरामा निराश नहुनुस म विनम्रतापूर्वक भन्न चाहन्छु उत्साहका साथ आत्मबल बलियो गराएर बस्नुस तपाईहरुलाई पाल्ने दायित्व र कर्तव्य राज्यको हो त्यो राज्यले गर्दछ हामीले पनि काम गर्ने कुरामा अघि बढौ र अर्को कुरा विकास निर्माणको सन्दर्भमा पनि म अस्ति मात्रै प्रदेश सरकार मुख्यमन्त्री संग बसेर सल्लाह गरेको थिएँ विकासका सवाल पनि गाउँगाउँमा आएको छ यतिवेला बाटो खन्न थालेको रोकिएको छ ,सिँचाई बनाउन थालेको रोकिएको छ ,पुल बन्न थालेको रोकिएको छ यस्ता विकास निर्माणका आम क्रियाकलापहरु रोकिएको छ यसमा प्रदेश सरकारले के सोँच गराएको छ भने हाम्रो विकास निर्माण गर्ने कुरामा स्थानीय हाम्रा मजदुरहरु लगाएर विकास निर्माण गर्ने हो र उक्त विकास निर्माणलाई हामीले रोक्ने होइन । हामी सजगतापूर्वब डेढ मिटरको दुरीमा रहेर ,एम्बुलेन्स अपडेट राखेर ,खाने वस्ने ,सुत्ने सवै व्यवस्थित गरेर त्यो ढंगको मजदुर लगाएर हामीले बाटो पनि बनाउने हो , पुल पनि बनाउने हो ,सिचाई पनि बनाउने हो ,हाम्रो खेतीपाती स्याहार्ने पनि हो रोपाई पनि गर्ने हो । हामीले अन्न उत्पादन पनि गर्ने हो बाटोघाटो पनि खन्ने हो घर पनि बनाउने हो तर हामी सजगताका साथ आन्तरिक मजदुरहरुले बनाउने हो । तसर्थ यो काम गर्नका निम्ती पनि हामीले अनुरोध गरेका छौ यसका लागि प्रदेश सरकारले नीति बनाएको छ । त्यस्तै भर्खरै प्रदेश सरकारले प्रदेश भरका एक सय नौ स्थानीय तहलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि १३ करोड ६० लाख अनुदान दिने निर्णय गरेको छ । जस अनुसार प्यूठानमा पनि २ वटा नगरपालिकामा पन्ध्र ,पन्ध्र लाखका दरले तथा ७ वटा गाउँपालिकामा दश ,दश लाखका दरले र जिल्ला समन्वय समितिलाई ५ लाख अनुदान प्यूठानले पाउने भएको छ ।
अन्तमा यस वाहेक केहि भन्नु छ कि ?
अन्तमा, प्यूठान जिल्लामा यस रोगको संक्रमित नहोस हामी नमुना बन्न सकौ जसका लागि सवै जनताको उत्तिकै भुमिका ,उत्तिकै दायित्व हुन्छ यसमा एक जना प्रशासकले सोचेर मात्र हुदैन एक जना व्यक्तिले सोचेर मात्र हुदैन,एकजना राजनीतिक नेताले सोंचेर मात्र हुदैन,एकजना स्वास्थ्यकर्मीले सोचेर मात्र हुदैन आम जनता नै अहिले डक्टर बन्न जरुरी छ । डक्टर बन्नु भनेको यो अवस्थामा सजग बन्नु हो यो गरे पछि रुघा लाग्दैन कोरोनावाट यसरी बँच्ने भन्ने विधि हामीले जुन बनाएकाा छौ सो अनुसार सजग बन्यौ भने हाम्रो जिल्ला चोखो हुन सक्दछ हामी कोरोनावाट मुक्त हुन सक्दछौ तसर्थ सजग रहन आम जिल्लावासीलाई विनम्रताका साथ अनुरोध गर्दै यहाँले बोलाएर आफ्नो सञ्चारमाध्यम मार्फत मेरो केहि कुरा राख्ने अवसर दिनु भएकोमा धन्यवाद दिन चाहन्छु र यो संकटको अवस्थामा खट्ने जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,प्रशासन ,जनप्रतिनिधि ,लगायत सवै जनतालाई यहाँको अनलाइन मार्पत हार्दिक धन्यवाद दिन चाहन्छु ।


सम्बन्धित पोस्टहरू

Top