Invalid Conversion Type | Wednesday 21st October 2020

राहतको राजनीति


Hamroekata १६ बैशाख २०७७

 

शिवराज पण्डित (पीएच.डी.)
यो हप्ता सामाजिक संजाल र विभिन्न संचार माध्यमहरुमा राहत र उद्धारसंग सम्बन्धित बर्गेल्ती सूचाना र जानकारीहरु संम्प्रेषण गरिए । लाग्थ्यो, फेसबुकवाल र समाचार सुन्दा देश चुनावमय हुदैछ । लकडाउनको अबज्ञा गर्दै संघीय सरकारका मन्त्री,सांसद,प्रदेश सांसद देखि स्थानीय सरकारका प्रमुखहरु सम्मका जनप्रतिनिधिहरुको नेतृत्व वा सहजीकरणमा राजधानी लगायत देशका विभिन्न स्थानमा रहेका मानिसहरु जिल्ला प्रबेश भए । अफ्ठारोमा परेकालाई प्रहरी, प्रशासन र स्थानीय सरकारको समन्वयमा जिल्ला प्रबेश गर्न सहजीकरण गर्नु पर्ने थियो । समन्वयको अभाव देखियो । मानिस ल्याउंदा र राहत सामाग्री वितरण गर्दा राजनैतिक नजरीयाबाट हेरी विभेद गरियो । क्वारिनटाइनको मापदण्ड जनताले मात्र पालन गर्नु पर्ने, नेता वा जनप्रतिनिधिहरुल पालना नगरे पनि हुने जस्ता प्रश्नहरुको उत्तर जनताले खोज्दै छन् ।
प्यूठान जिल्ला पनि राहत र जिल्ला बाहिर रहेका मानिसहरु जिल्ला भिञ्याउने कार्यमा एक प्रकारको होड नै चल्यो । राष्ट्रिय राजनीतिमा चर्चामा रहने गोबिन्द पोख्रेल र बामदेब गौतम देखि प्रदेशसभा सदस्य कृष्णध्वज खडका समेतका नेताहरु सामाजिक संजाल र फेसबुक वालमा चर्चामा रहे । जिल्ला बाहिर रहेका मानिसलाई जिल्ला भित्राउने र भित्रिएका मानिसहरुलाई सम्बन्धित न.पा.÷गा.पा.,प्रहरी र स्वास्थ्यकर्मीको समन्वयमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्यारिनटाइनमा राख्नु पर्ने हुन्छ, तर जन प्रतिनिधिहरु क्वारिनटाइन बस्न इन्कार गरी घरमा बसे । क्वारिनटाइनमा नबसेको विषयमा प्रदेशसभा सांसद कृष्णध्वज खडकाको बढी चर्चा रह्ये । ज्याला मजदुरी गरी आएका सिमान्तकृत समुदायका मानिसहरु अनिवार्य रुपमा क्वारिनटाइन बस्नु पर्ने वाध्यात्मक ब्यबस्थाले विभेद भएको गुनासो सुनियो । गौमुखी गा.पा.का उपाध्यक्ष तुलसा सुनार क्वारिनटाइनमा बसिन । उपाध्यक्ष दलित थिइन त्यसैले उनलाई क्यारिनटाइनमा बस्न बाध्य पारियो भन्ने प्रतिक्रिया सुनियो । उपाध्यक्ष दलित भएकै कारणले क्वारिनटाइनमा बस्नु पर्ने अन्य अभिजात वर्गका जनप्रतिधिहरु क्वारिनटाइनमा बस्नु नपर्ने ? यो सामाजिक विभेद र अपराध हो । दलित माथि गैर दलितको राजनीति पनि हो ।
माहामारी, युद्ध,आन्तरिक द्वन्द्व वा उपद्रवको समयमा सबै भन्दा बढी जोखिममा रहने वर्ग वा समूह महिला,वालवालिका,जेष्ठ नागरिक र सिमान्तकृत समुदाय हुन । महामारी वा विपत ब्यबस्थापन गर्दा यो बर्गलाई पहिलो प्राथमिकता दिनु पर्दछ । संकट वा विपतमा परेका यी समुदाय वा वर्गको उचित ब्यबस्थापन गर्ने पहिलो दायित्व राज्यको हो । राज्य नागरिको अभिभावक हो । स्वभाविक रुपमा अभिभावक अन्य स्वयंसेवी ब्यक्ति वा समूह भन्दा बढ्ता उत्तरदायि र जिम्बेवार हुनु पर्दछ । राज्यकोषबाट खरिद गर्ने सामाग्री होस या स्वंयसेवी ब्यक्ति,समूह,संस्था वा निकायबाट प्रदान गरिएका सेवा वा सामाग्रीहरुको न्यायोचित रुपमा वितरण गर्ने दायित्व जनप्रतिनिधिको हो । विपतमा सेवा वा सामाग्री वितरण गर्दा राजनैतिक आंखाबाट हेरिनु हुदैन । तर प्यूठामा सत्ता बाहिर रहेका गोबिन्द पोख्रेल हुन या सत्तासीन पार्टी भित्रका बामदेव गौतम र कृष्णध्वज खडका समेतले राहत र उद्धारमा राजनीति गरे भन्ने जनआवाज सुनियो । जसरी उनीहरुले आफ्ना चेलाचपेटा, आसेपासे मार्फत सामाजिक संन्जाल वा फेसबुक वालबाट राहत र उद्धार गरेको तस्वीरहरु पोष्ट गरीे प्रचार गरे र गर्दैछन्, त्यो आफैमा राजनीति थियो र हो ।

विशुद्ध सामाजिक र मानवियताका लागि गरिएको कार्यमा पुरस्कार र फाइदा खोज्नु गलत हो । अफ्ठारोमा परेकालाई सहयोग गर्नु मानव धर्म हो । नेपाली संस्कार वा संस्कृति हो । हरेक विपत वा संकटको पहिलो शिकार महिला,वालवालिका,जेष्ठ नागरिक हुने भए तापनि विशेषतः गरिव वा सिमान्तकृत समुदायका मानिसहरु अझ बढी जोखिममा परेका हुन्छन् । कोभिड–१९ का कारण सिर्जित संकटमा पनि सिमान्तकृत समुदायका मानिसहरु बढी जोखिममा परेकाछन् । उनीहरुले रोजगारी गुमाएकाछन् । आज काम गरी आजै खाने ( दैनिक ज्यालादारी ) गरी खाने बर्ग महिनौं देखि बेरोजगार छ । गरिवी अघिल्लो जूनीको फल या भाग्यको खेल पनि होइन । राज्यसत्ताको विभेदकारी नीतिले सिर्जित परिणामको प्रतिफल हो । तसर्थ राहत र उद्धार गर्दा गरिवको तस्वीर देखाउनु अमानवीयता हो । अपराध हो ।
गत् अप्रिल २५ तारेख (बैशाख,१२ ) फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक सम्पत्तिमा तोडफोड भयो । आधा दर्जन कारहरु जलाइए । कार जलाउनुको कारण थियो,माहामारीको विपत वा संकटमा राहत बांडदा विभेद भयो । राहत र उद्धारमा धनी र पहुंचवालाको बोलवाला भयो । गरिव वा सिमान्तकृत समुदायले विभेद सहन सकेनन् र प्रतिकारमा उत्रिए, ध्वंस गरे । स्थिति नियन्त्रण गर्न सेना र प्रहरी परिचालन गर्नु परयो । युरोपमा इटालीपछि माहामारीबाट प्रभावित भएको देश फ्रान्स पनि हो । धनी र गरिवको बीच विभेद गर्नु पनि राजनीति हो । माहामारीमा मानवता हुन्छ,धनी र गरिव हुंदैन भन्ने विश्व सन्देश पेरिसले दियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको पूंजि र सामरिक दम्भलाई कोभिड–१९ ले तोडदिएको छ । मर्ने र संक्रमित हुनेको शंख्या दिनानु दिन बृद्धि भै रहेको छ । संसारका २१० मा फैलिएको महामारीमा मर्ने र संक्रमित संख्या अमेरिकाको छ । तर राष्ट्रपति ट्रम्पलाई आफ्ना नागरिक मरेकोमा चिन्ता छैन । गत् हप्ता ट्रम्पको उस्काहटमा उनी समर्थित ब्यक्तिहरुको समुहले न्यूयोर्कमा लकडाउन अन्त्य गर ! भन्दै हातमा बन्दुक लिई प्रदर्शन गरे । यो प्रदर्शनले पूंजिवाद मान्छेको जीवन वा मानवता भन्दा ठूलो हो भन्ने कुरा छरपष्ट भयो । संसारलाई प्रजातन्त्र र मानवअधिकारको पाठ सिकाउने अमेरिका आफ्नै अगाडी हजारौं नागरिक मर्दा समेत रत्तिभर चिन्ता गर्दैन । ट्रम्प किन हजारौं मानिस मर्दा ( अमेरिकामा लाखौं मर्ने अनुमान छ ) पनि संवेदनशील देखिदैनन् ? सायद यो जिज्ञासा वा प्रश्न सबैको मनमा उब्जेको हुनु पर्दछ । यो जिज्ञासा मेटाउन मैले अमेरिका बस्दै आएका भाइलाई सोधें, किन हजारौं अमेरिकी मर्दा पनि ट्रम्पमा मानवीय संवेदना देखिएन ? भाइको उत्तर थियो– अमेरिकामा कोभिड–१९ बाट मर्ने र संक्रमित हुने धैरै मानिसहरु कालो वर्णका छन् । अमेरिकामा शताब्दीयौं देखि कालो र गोरो वर्ण बीचमा विभेद छ । राहत र उद्धारको प्राथमिकतामा पनि गोरा अगाडि छन् । तसर्थ कालो वर्णको मानिस मर्दा ट्रम्पलाई अमेरिकी मरेको अनुभूति भएको छैन ।
जनशांख्यिक वा आर्थिक दृष्टिले हेर्दा वालवालिका र जेष्ठ नागरिकहरु उत्पादनसंग जोडिदैनन् । यो दुई वर्गसंग खाने मुख हुन्छ ,श्रम र उत्पादन गर्ने हात चल्दैन । यो बर्ग जिवीकोपार्जनको लागि युवा र वयस्कसंग भर पर्नु पर्ने हुन्छ । अर्थशास्त्रीय दृष्टिले जेष्ठ नागरिक राष्ट्रका लागि बोझको रुपमा रहेका हुन्छन् । अमेरिका पूंजिवादी देशको नाइके हो । समाजवादी देश चीनले अमेरिकासंग अर्थ र सामरिक मामलामा कडा प्रतिस्पर्धा गर्दैछ । अमेरिकालाई आफ्ना नागरिक मरेको चिन्ता भन्दा पनि चीन आर्थिक महाशक्ति बन्दछ भन्ने चिन्ताले सताएको छ । त्यसकारण महामारीले भयावह रुप लिंदा समेत त्यसको प्रबाह नगरी लकडाउन अन्त्य गर्न हतार गरी रहेको छ । केही राज्यहरुमा लकडाउन खुल्ला भै सकेको छ भने आगामी हप्ता अमेरिकाका धेरै राज्यहरुमा लकडाउन अन्त्य गर्ने ट्रम्पले सार्वजनिक रुपमा घोषणा गरेका छन् ।

पश्चिमा देशहरु मानवता हराएकै देशहरु हुन । साहित्य,कला,ज्ञान,विज्ञान,भावना,आत्मा सबै पैसाले किन्न सकिन्छ भन्ने मान्यता राख्ने उपभोक्तावादका प्रवद्र्धक हुन । पूर्बीय दर्शनमा आधारित समाजमा तुलनात्मक रुपमा पश्चिमामा भन्दा मानवता र मानवीय मूल्यको महत्व थियो र केही हद सम्म अझै छ पनि । तर क्रमशः आधुनिकताको नाममा हाम्रो समाजबाट पनि मानवता हराउंदै गएको छ । समाजिक सेवाभावका मानिसहरु औंलामा गन्नेमा सििमत छन् । केही गर्न खोजे जस्तो गर्नेहरुले समाजबाट तुरुन्त पुरुस्कार र फाइदा खोज्दछ्न । गलत संस्कारको विकास हुदैछ । महामारीका लागि वितरण गरिएको राहत र उद्धारका सामाग्रीहरु जो जसले जसरी वितरण गरी रहेको छ त्यो नेताले आफ्नो घर खेत बैंक ब्यालेन्स निकालेर बांडेको छैन । वितरण गरिएको नगद होेस या जिन्सी सामग्री राज्य कोष या कुनै परोपकारी संस्थाबाट लिएर बांडेको हो । या विगत्मा राज्यको कुनै पदमा रहंदा नाजायज ढंगले कमाएको स्रोतबाट किनेर वितरण गरिएको हो । संकट र विपतका बेला समाज सेवाको नामबाट राजनीति नगरौं ।


सम्बन्धित पोस्टहरू

Top