Invalid Conversion Type | Saturday 31st July 2021

माण्डवी सरकारको नमुना निर्णय ,२० युनिट बिद्युत निशुल्क देखि सुत्केरीलाई एम्बुलेन्स निशुल्क सम्म


Hamroekata १३ असार २०७८

प्रकाश बैद्य
प्यूठान, प्रत्येक वर्षको नीति तथा कार्यक्रममा कुनै न कुनै नयाँँ कार्यक्रम लिई पालीकावासीहरुको सेवामा अग्रता प्रदर्शन गर्दै आएको जिल्लाको माण्डवी गाउँपालिकाले आफ्ना पालिका भित्रका वासिन्दाहरुलाई आगामी साउन महिना देखि २० युनिट सम्म बिद्युत महसुल निशुल्क गर्ने नमुना निर्णय लिएको छ ।
बिहिवार भएको गाउँपालिकाको दशौ गाउँ सभाले पालिकावासी सवैलाई न्यनूतम २० युनिट सम्म बिद्युत महशुल निशुल्क गर्ने,सुत्केरी हुने महिलाहरुका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था,कृषि एम्बुलेन्स सेवा तथा शहिद परिवारलाई मासिक १ हजार भत्ता लगायतका लोकप्रिय कार्यक्रमहरु समेटिएको नीति कार्यक्रम तथा बजेट पारित गरेको हो ।
अझै पनि आफ्नो गाउँपालिकामा गरिवीको रेखामुनि रहेका जनताहरुमा बिद्युत महशुल तिर्ने क्षमता नभएको समस्यालाई मध्यनजर गर्दै २० युनिट सम्म बिद्युतको रकम गाउँपालिकाले भुक्तान गरि दिने निर्णय लिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताए । आफ्नो गाउँपालिकाका गरीव समुदायको गरीवी अवस्थाको अनुभव सुनाउँदै अध्यक्ष रोकाले भने “ हामी निर्वाचित भएर आइसके पछि करिव ५ सय परिवारलाई निशुल्क बिद्युत मिटर बक्स तथा तारहरु जोडिदिएका छौ । कसैको घरमा टुकी बालेको अवस्था र कसैको घरमा ओल्लो घर या त पल्लो घरवाट लुज तार लिएर बत्ति बालेको अवस्थामा ५ सय घरमा हामीले मिटर जोडिदिदा पनि अझै करिव २ सय बढि घरहरु बिद्युत बाल्न बाँकि रहेको अवस्था छ । यस्तो अवस्था हुनु भनेको गरीवीको कारणले नै हो तसर्थ यस्ता सिमान्तकृत ,पिछडिएका बर्गलाई लक्षित गरेर बिद्युत महशुल तिरिदिने कार्यक्रम ल्याएका हौ ” माण्डवी गाउँपालिकामा बुटवल पावर कम्पनी मार्फत बिद्युत उत्पादन भएको र केहि रोयल्टी बुटवल पावर कम्पनी मार्फत गाउँपालिकालाई पनि आउने हुँदा त्यसलाई पनि केहि आधार मानी पालीकावासीको न्यूनतम बिद्युत महशुल निशुल्क गर्ने निर्णय लिएको अध्यक्ष रोकाको भनाइ छ ।
माण्डवी गाउँपालिकाले पालिका भित्र शिसु तथा मातृमुत्यू  दर कम गर्ने महत्वपूर्ण योजनाको रुपमा सुत्केरी हुने महिलाहरुलाई स्वास्थ्य संस्था सम्म पूर्याउन एम्बुलेन्स सेवा निुशुल्क गर्ने अर्को नमुना नीति अघि सारेको छ । स्वास्थ्य चौकी सम्म जान पहुँच नभएका महिलाहरुलाई अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरी संस्थागत डेलिभरी गराउने लक्षका साथ बाल मृत्यु दर, मातृमुत्यू दर शुन्य बनाउने लक्ष लिई सुत्केरी हुने महिलाहरुका लागि डेलिभरी हुने वेला सम्म वडा ,गाउँपालिका स्वास्थ्य चौकी तथा जिल्ला अस्पताल सम्म लैजानका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने नीति लिएको समेत गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए । पालिकाले अघि सारेका सवै कार्यक्रमहरुको श्रावण महिना देखि नै कार्यान्वयनमा लागिने अध्यक्ष रोकाले प्रष्ट पारे ।
गाउँपालिकाको गाउँ सभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ३८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट सर्वसहमतिले पारित गरेको समेत अध्यक्ष रोकाले जानकारी दिए । गाउँपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनाका कार्यक्रमहरुलाई प्राथमिकता दिई नीति कार्यक्रमहरु तय गरेको छ । पालिकाले अघि सारेका अन्य कार्यक्रमहरु पनि महत्वपूर्ण नै देखिन्छन् ।
गाउँपालिकाका सबै मा.वि विद्यालयहरुमा तेक्वान्दो खेलको सुरुवात गर्ने , बेरोजगार युवा तथा कृषक लक्षित सहुलियत दरको ब्याजमा ऋण प्रबाह गरि कृषि र अन्य व्यवसायमा जोड्नका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, कृषि तथा पशुपंक्षीको पकेट क्षेत्रको रुपमा विकास गर्न तरकारी पकेट कार्यक्रम , बाख्रा पकेट कार्यक्रम, कोभिड–१९ का कारण रोजगार गुमाएका तथा बेरोजगार युवाहरूलार्ई बिभिन्न सिप मुलक तालिम र व्यवसायमा समाबेस गर्ने गरि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने, नयाँ सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गर्ने,सबै जनताको घरधुरीमा बिद्युत बिस्तार , खरको छानो भएको बाँकी सबै घरमा यसै वर्ष जस्तापाता उपलब्ध, गाउँपालिकामा रहेका मगरबासिहरुको मगर भाषा संरक्षण र प्रशिक्षणको लागि प्रत्येक वडाका मगर बस्तिहरुमा मगर भाषा सिकाउने र मारुनि नाचको संरक्षण र प्रवद्र्धनको लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने, पन्चे बाजाको संरक्षण, आरन पेशालाई व्यवसायिकरण , सिकर्मी डकर्मी पेशालाई आधुनिकतामा परिणत गर्ने गरि बजेटको सुनिश्चितता,सरस्वति प्रा. वि.मुकचौरमा कक्षा ४, ने. रा. आ. वि. थक्लेनिमा कक्षा ७, सनराइज एकेडेमिमा कक्षा ८ र माण्डवी मावि. नयाँगाउँमा प्राविधिक धार तर्फ कक्षा ११ थप गर्ने। गाउँपालिकामा कार्यरत कर्मचारीहरुका लागि १० दिनको लागि पर्यटन काजको व्यवस्था लगायतका महत्वपूर्ण नीति तथा कार्यक्रमहरु पालिकाले अघि सारेको छ ।
जिल्लाका स्थानीय सरकार प्रमुखहरुमा कान्छो अध्यक्षको रुपमा परिचित माण्डवी गाउँ सरकारका प्रमुख श्रीधर रोकाको टिमको आगामि नीति तथा योजनाको सर्वत्र चर्चा हुन थालेको छ । जनता केन्द्रित नीति तथा कार्यक्रममा माण्डवी सरकारले नमुना कार्यक्रमको कार्यान्वयन नमुनै रुपमा गरोस आम माण्डवीवासीको आषा एवं विश्वास यहि छ ।


सम्बन्धित पोस्टहरू

Top