Invalid Conversion Type | Tuesday 20th April 2021

आयुर्वेद स्वास्थ्य सेवाप्रति आकर्षण बढ्यो


Hamroekata २६ माघ २०७७

प्रकाश बैद्य
प्यूूठान, पछिल्लो समय जिल्लामा आयुर्वेद स्वास्थ्य उपचार तथा आयुर्वेद औषधि प्रयोगमा सर्वसाधारणको आकर्षण बढ्न थालेको छ ।
कोरोना महामारी संगै आयुर्वेद औषधिले मानिसको रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने तथा आयुर्वेद पद्धतिवाट हुने विभिन्न स्वास्थ्य उपचारका प्रभावकारी सेवाका कारण आयुर्वेद सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्न थालेको हो ।
गत वर्षको तुलनामा यस वर्ष श्रावण यता ६ महिनाको अवधिमा प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगामा सेवाग्राहीको संख्या करिव ६५ प्रतिशतले बढेको स्वास्थ्य केन्द्रका सिनियर बैद्य थानेश्वर न्यौपानेले बताए । रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि ,पेटको ग्याष्ट्रिक निको पार्ने औषधि ,बाथ ,नसा तथा जेष्ठ नागरिक सेवा कार्यक्रम अन्तर्गत ६० वर्ष भन्दा माथीका जेष्ठ नागरिकका लागि स्वास्थ्य रक्षात्मक औषधि यस अवधिमा बढि प्रयोग भएको समेत बैद्य न्यौपानेले बताए । सिङ्गो विश्व नै आक्रान्त बनेको कोरोना महामारीका कारण आयुर्वेद औषधिले रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले सर्वसाधारणले कोरोना विरुद्ध लड्ने विकल्पको रुपमा रोजेको कारणले पनि यस अवधिमा आयुर्वेद सेवाप्रति सर्वसाधारणको आकर्षण बढेको छ । पछिल्लो समय जिल्लामा जीर्ण रोगका विरामी थपिदै गएको अवस्थामा आयुर्वेद औषधिको साइड इफेक्ट नहुने तथा आयुर्वेदले सर्वसाधारणको लागि ल्याएको स्वास्थ्य सेवाका प्रभावकारी उपाएका कारण पनि आयुर्वेदप्रति सर्वसाधारणको लगाव बढेको हो ।
प्यूूठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाले सर्वसाधारणको उपचारका लागि स्वास्थ्य सेवाका विभिन्न नयाँ नयाँ पद्धति मार्फत सेवा दिएकोले पनि केन्द्रमा उपचार सेवा लिन आउने विरामी बढेको कार्यालयले जनाएको छ । पञ्चकर्म विधिवाट दिइने सेवामा दिनमै झण्डै १५,१६ जनाले सेवा लिएको र यस विधिवाट हुने उपचारले मानिसको हड्डी खिइएको,बाथ ,युरिकएसिड,आम्वाथ ,साइटिगा समस्याको समाधान हुने समेत कार्यालयले जनाएको छ ।
स्वास्थ्य केन्द्रले सञ्चालन गरेको दैनिक योग सेवा कार्यक्रमले पनि सर्वसाधारणको आकर्षण बढेको छ । दैनिक रुपमा सञ्चालन हुने योग कार्यक्रममा दिनमा २० देखि २५ जनाको सहभागिता हुने तथा उक्त कार्यक्रममा सहभागि हुनेलाई केन्द्रले प्रत्येक दिन ५ सय एमजिको सिलाजित क्याप्सुल विहान सवैलाई खुवाएर कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले माघ महिना देखि कार्यालयमा ल्याव सेवा समेत सञ्चालनमा ल्याएको छ । माघ मसान्त सम्म ल्याव सेवा सवैको लागि निशुल्क गरिएको तथा फागुन महिनावाट न्यूनतम शुल्कमा सेवा सञ्चालन गरिने कार्यालयले जनाएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमै ल्याव सेवाले सर्वसाधारणलाई आयुर्वेद सेवाप्रति थप आकर्षित बनाएको छ । अन्यत्र विभिन्न चर्को शुल्क तिरी परिक्षण गर्नु पर्ने अवस्थामा केन्द्रमै ल्याव सञ्चालन हुनुले जनताले अन्यत्रको तुलनामा शुलभ शुल्कमा ल्याव सेवा पाउने अनुमान गर्न सकिन्छ ।

                   
कोरोना महामारीको बैकल्पिक उपचार तथा आयुर्वेदले ल्याएको विभिन्न प्रभावकारी स्वास्थ्य सेवाका कारण सर्वसाधारणको आकर्षण बढिरहेको वेला जिल्लाको माण्डवी ,ऐरावती र झिमरुक गाउँपालिकामा आयुर्वेदले ०७७ माघ महिना देखि नागरिक आरोग्य सेवाकेन्द्र मार्फत सेवा दिइरहेको छ यसले पनि जनतामा आयुर्वेदप्रति थप आकर्षण बढ्न थालेको छ ।
कोरोना महामारीमा कोरानो संग लड्ने बैकल्पिक उपचारको रुपमा , साइडइफेक्ट नहुने औषधि प्रयोगको रुपमा , पञ्चकर्म योगा तथा ल्याव जस्ता नविनतम सेवाको रुपमा साथै जीर्ण ,पेटको रोगको उपचारका लागि बर्तमान समयमा आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । सर्वसाधारणको रोजाई एवं आकर्षणको सेवा वन्दै गएको जिल्लाको आयुर्वेद सेवाको थप विस्तार तथा विकासमा आम सरोकारवाला निकायको विशेष ध्यान जानु जरुरी छ ।


सम्बन्धित पोस्टहरू

Top